काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सांसद गगनकुमार थापाले सोमबारदेखि सुरु भएको हिन्दूकुश हिमालय क्षेत्रका सांसदहरुको बैठकको पहिलो सत्रलाई सम्बोधन गर्दै सरकारलाई जलवायुजन्य प्रकोपको तयारीमा उत्तरदायी बनाउनुपर्नेमा जोड दिएका छन् ।
उनले अहिले दक्षिण एसिया जलवायु परिवर्तनले उत्पन्न गरेका चुनौतीहरू सबैभन्दा संवेदनशील क्षेत्रको रूपमा देखिएको बताएका छन् । उनले भारत, पाकिस्तान, नेपाल र बङ्गलादेशमा पछिल्ला जलवायुजन्य घटनाहरूले यस क्षेत्रमा जलवायु सङ्कटलाई देखाएको उल्लेख गर्दै समयमा नै सतर्कता अपनाउनुपर्नेमा जोड दिए ।
महामन्त्री थापाले पाकिस्तानमा हालै आएको बाढीपहिरो, साथै यस क्षेत्रभर देखिएका जलवायुसम्बन्धी अन्य प्रकोपहरूलाई उदाहरण दिँदै यो सङ्कटको गम्भीर स्मरण गराएको बताए । भविष्यमा यस्ता जलवायु संवादलाई निरन्तरता दिन आवश्यक रहेको बताउँदै महामन्त्री थापाले जलवायुसम्बन्धी मुद्दालाई राष्ट्रिय बहसको मूलधारमा ल्याउन सांसदहरूको भूमिका महत्वपूर्ण रहेको बताए । उनले समुदायस्तरबाट सङ्कलित जलवायु अनुकूलनका ज्ञानलाई राष्ट्रिय नीति निर्माण र कार्यान्वयनमा प्रयोग गर्नुपर्ने बताए ।