काठमाडौं ।विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेश गरिएको छ। समितिका सचिव दशरथ धमालाले सोमबारको बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै प्रतिवेदन समितिका सदस्यहरूलाई वितरण गरेका छन्।यसअघि १६३ दफा रहेको विधेयकमा अहिले १७४ दफा समावेश गरिएको छ। नयाँ प्रतिवेदनअनुसार १४ वटा दफा थपिएका छन्, ३ वटा दफा हटाइएका छन् भने ९८ वटा दफा विभिन्न तरिकाले संशोधन भएका छन्। प्रतिवेदन अध्ययनपछि समितिका सदस्यहरूले आगामी बैठकमा छलफल गरेर प्रतिवेदन पारित गर्ने तयारी गरिएको छ। विधेयक पारित भएपछि विद्यालय शिक्षा क्षेत्रमा नीतिगत र कानूनी रूपले महत्त्वपूर्ण परिवर्तन हुने अपेक्षा गरिएको छ।