काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औँ ‘नाडा अटो शो’ को उद्घाटन गरेका छन् । भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको १७औँ नाडा अटो शो– २०२५ उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताए ।
भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको १७औँ नाडा अटो शो अवलोकन गर्दै उनले नयाँ ढङ्गले काम गर्ने युवालाई सरकारले हरतरहले साथ दिने बताए । उनले लगानी र काममा कुनै बाधा नभएको बताउँदै देशले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए ।
उनले भने, “उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्ग बन्दैछन्, अन्तरराष्ट्रिय विमानस्थल थपेका छौँ । हरित ऊर्जा, मिथेन ग्यास, धौवादीबाट फलाम उत्पादन गरेर प्रयोग गर्दैछौँ । प्रविधिको रुपान्तरण भैसकेको छ । यी सबैको ध्येय विकास र समृद्धि हो । यसमा तपाईंहरु ढुक्कले अगाडि बढ्नुस् । देशका लागि योगदान गर्नुहोस् ।”