विराटनगर । नेपाल–भारत बीचको खुला सीमाबाट हुने तस्करीको सेटिङ भत्किएपछि नाकामा हुने अवैध कारोबार सतहमा आएको छ । कपडालगायत सटिङसुटिङको अवैध लाइन चलाउने र सीमा सुरक्षाको जिम्मेवारी बोकेको सशस्त्र प्रहरीको बीओपीका बीचमा भएको सेटिङ भत्किएसँगै नाकाबाट हुँदै आएको तस्करीको घटना बाहिरिन थालेको हो । यही भदौ १ गते सशस्त्र प्रहरीको बीओपीको गस्तीसँग तस्करहरुको दरैयामा रहेको मुसहरी बस्तीको अवैध नाका उखुबारीमा दोहोरो जुहारी नै चलेको सार्वजनिक भएको छ ।
यो घटनापछि तस्कर समूहले विराटनगर भित्र्याउँदै गरेको कपडा बोकेको अटो र अटोमा लोड भएको दश पोका कपडा नियन्त्रणमा लिई सशस्त्रको बीओपीले विराटनगर भन्सारमा बुझाएको छ । खुला सीमाबाट हुने अवैध काराबार नियन्त्रणका लागि विराटनगर जुट मिलमा रहेको सशस्त्रको बीओपीको कमान्डिङ सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) विनोद खतिवडाले गरिरहेको थिए ।