कैलाली । गत २३ साउनको रात कैलाली कारागारमा कैदीबन्दीबीच भएको हिंसात्मक घटनामा एक जनाको मृत्यु र ४८ जना घाइते भएपछि छानबिन समितिले घटनाको वास्तविकता पत्ता लगाउन सूक्ष्म र उच्चस्तरीय अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालेको छ।सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई प्रतिवेदन बुझाउँदै, कारागारभित्रको आपसी मतभेद, बन्दीगृहको प्रशासनमा प्रभुत्व जमाउने प्रयास र व्यवस्थापकीय कमजोरी घटनाका मूल कारण भएको जनाएको छ।
छानबिन समितिका सदस्य सचिव तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार, कैदीबन्दीबीच लामो समयदेखि वादविवाद चल्दै आएको थियो। ब्लक ‘ए’ का कैदीहरूले भित्तामै प्वाल पारेर ब्लक ‘बी’ का कैदीमाथि आक्रमण गरेपछि घटनाले हिंसात्मक रूप लिएको हो। उक्त आक्रमणमा लागुऔषध मुद्दामा कैद सजाय भोगिरहेका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४८ जना घाइते भएका थिए। तीमध्ये ३९ जना डिस्चार्ज भए पनि उनीहरूलाई हाल सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा राखिएको छ। गम्भीर घाइतेमध्ये तीन जना कैदीको काठमाडौँमा उपचार भइरहेको छ, भने पाँच कैदीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको छ।
छानबिन समितिले घटनाको सीसीटीभी फुटेज स्पष्ट नदेखिएको र आवश्यक प्राविधिक प्रमाण नपाइएको उल्लेख गर्दै विशिष्ट अनुभव र दक्षता प्राप्त सुरक्षाकर्मीमार्फत अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको छ। घटनापछि गृह प्रशासनले गंभीर सुरक्षा लापरबाही गरेको भन्दै कैलालीका तत्कालीन प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई मन्त्रालय तानेर दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई कैलाली पठाएको थियो।