काठमाडौं । एनआईसी एसिया लघुवित्तले प्रगति समीक्षा र रणनितिक योजना बैठक सम्पन्न गरेको छ । सोमबार र मंगलबार दुई दिन चलेको बैठकमा अनुगमन अधिकृत र कर्जा असुली अधिकृतहरूको सीप, क्षमता अभिवृद्धिका लागि तालिम पनि प्रदान गरिएको थियो । संस्थाको वार्षिक कार्यक्रमअनुसार सञ्चालित बैठकमा सातै प्रदेशका प्रमुख, ३१ अनुगमन अधिकृत, नौ जना कर्जा असुली अधिकृतलगायतका ४७ जना कर्मचारीले तालिम प्राप्त गरेका छन् ।
रोयल बुटिक होटेल, काठमाडौंमा सञ्चालन गरिएको कार्यक्रममा संस्थाका सञ्चालक समिति अध्यक्ष प्रकाशराज शर्माले देश विदेशमा सञ्चालनमा रहेका लघुवित्त संस्थाहरूले गरेका राम्रा अभ्यास, लघुवित्त क्षेत्रमा आईपरेका समस्याहरू र कर्जा गुणस्तर कायम गर्न चाल्नुपर्ने असुली रणनीतिबारे जानकारी प्रदान गरेका थिए भने सञ्चालक सदस्य बलराम पौडेलले शाखामा प्रभावकारी अनुगमन गर्न चाल्नुपर्ने कदम तथा तौरतरिका, सिद्धान्त आदिका बारेमा उदाहरणहरू दिई कर्मचारीहरूलाई उत्प्रेरित गरेका थिए ।
यसैगरी प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी, नायव प्रमुख कार्यकारी अधिकृत मेषबहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे, सहायक महाप्रबन्धक राजेन्द्र न्यौपानेलगायत विभिन्न विभागका विभागीय प्रमुखहरूले दैनिक कार्य सञ्चालनलाई प्रभावकारी कार्यान्वयन गर्न देखा परेका समस्या तथा त्यसको समाधानका लागि चाल्नुपर्ने आवश्यक कदमका बारेमा आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए । कार्यक्रम गत आर्थिक वर्षको कार्य प्रगतिको समीक्षा गर्नुका साथै चालू आवको लागि राखिएका लक्ष्य हासिल गर्नको लागि आवश्यक रणनीति तर्जुमा गर्दै सम्पन्न भएको थियो ।