काठमाडौं । लर्डबुद्ध एजुकेसन फाउन्डेशन एलबीईएफले आयोजना गरेको सूचना प्रविधि प्रदर्शनी गरिएको छ । स्नातक तहका छैटौँ तहमा आईटी अध्ययनरत विद्यार्थीहरूले विकास गरेका सफ्टवेयर, एआई आधारित उपकरण, साइबर सुरक्षासम्बन्धी प्रणाली, क्लाउडलगायतका विभिन्न ५२ वटा सिर्जनात्मक आविष्कारहरू प्रस्तुत गरिएको थियो ।
लर्डबुद्ध एजुकेसन फाउन्डेसन परिसरमा भएको प्रदर्शनीको अवलोकन गर्दै नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेपाली विद्यार्थीहरू सूचना प्रविधिको क्षेत्रमा अब्बल रहेको बताए । विद्यार्थीहरूले विकास गरेका आईटी सफ्टवेयरहरूको व्यावसायीकरण र बजारीकरणका लागि सरकारसँग समन्वय गर्नुपर्ने उनको भनाइ थियो ।
सूचना प्रविधिको तीव्र गतिमा विकास र विस्तार भइरहेको अवस्थामा विभिन्न प्रकारका सफ्टवेयरहरू सरकारलाई नै आवश्यक पर्ने भएकाले नेपालमा आईटीको भविष्य उज्ज्वल रहेको थापाले बताए । नेपालमा दक्ष जनशक्ति उत्पादन गर्न आइटी क्षेत्रमा थप लगानी बढाउनुपर्नेमा उनको जोड थियो । विद्यार्थीहरूले विकास गरेको एआई प्रविधि, साइबर सेक्युरिटी, क्लाउड, तथा आईओटी प्रविधिमा अवलोकनकर्ताहरूको चासो देखिएको लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष ई. पंकज जालानले बताए ।
विद्यार्थीलाई आत्मविश्वासी र व्यावसायिकरूपमा सक्षम बनाउन आईटी प्रोजेक्ट एक्स्पो आयोजना गरिएको अध्यक्ष जालानको भनाइ छ । प्रदर्शनीमा विद्यार्थी, अभिभावक, शिक्षक तथा सूचना प्रविधिमा रुचि राख्ने विभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । प्रदर्शनीमा कलेजका विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स(एआई)मा आधारित प्रविधिको विकास, ह्याकिङबाट बच्ने सुरक्षात्मक प्रणाली, शैक्षिक व्यवस्थापन प्रणालीजस्ता नवीनतम् प्रविधिको सफल प्रदर्शन गरेका थिए ।
लर्डबुद्ध एजुकेसन फाउन्डेसनले हरेक वर्ष सिर्जनात्मक गतिविधिको माध्यमबाट विद्यार्थीलाई नयाँ खोज र प्रयोगमा प्रेरित गर्दै आएको छ । पछिल्लो प्रदर्शनीले पनि नेपालको आईटी शिक्षामा निहित क्षमतालाई उजागर गर्दै देशभित्रै नवप्रवर्तन गर्न सकिने सम्भावनालाई बलियो बनाएको छ ।