काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय छात्रा विभागले आइतबार यहाँ आयोजना गरेको ‘तीज जनसंस्कृति र प्रगतिशील’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले तीज पर्वलाई सबैले मौलिक र परम्परागत संस्कृतिका रूपमा मनाउनुपर्ने बताएकी छिन् ।
हाम्रा धार्मिक आस्था बोकेका पर्वमा हुने गलत प्रवृत्तिलाई रोक्न जरुरी रहेकामा जोड दिदै उनले पुँजीपतिको व्यापारिक प्रवृत्तिले तीज पर्वलाई विकृत बनाएको आरोप लगाइन् । नाफा कमाउन लामो समयसम्म व्यापार गर्ने, तडकभडकलाई प्रोत्साहन दिने र मौलिक संस्कृतिलाई मेट्ने कार्य बढिरहेको भन्दै भुसालले चिन्ता व्यक्त गरिन् ।
समाजमा महिलालाई अझै दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने गरिएको उल्लेख गर्दै उपाध्यक्ष भुसालले तीजलाई महिला उत्पीडनसँग जोडिएको पर्वका रूपमा मनाउनुभन्दा अवसर, सशक्तीकरण र सकारात्मक परिवर्तनका लागि मनाउनुपर्ने धारणा राखिन । उनले तीजलाई भड्किलो र खर्चिलो नबनाई मौलिक लोकगीतको संरक्षण, महिला अधिकारप्रतिको सचेतना र महिलालाई सङ्गठित गर्ने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिइन ।
कार्यक्रममा तीजलाई सांस्कृतिक, सामाजिक र मूल्य मान्यतालाई अगाडि बढाउने प्रगतिशील माध्यमका रूपमा लिनुपर्ने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष विजयप्रसाद सापकोटाले आफ्नो विचार प्रस्तुत गरे ।
कार्यक्रममा तीजमा सामाजिक मूल्य, मान्यतालाई आत्मसात् गर्दै सकारात्मक सन्देश दिने गरी मनाउनुपर्ने छात्रा विभागकी अध्यक्ष ममता अधिकारीले बताइन् । उनले आगामी दिनमा पनि विभाग महिला उत्थानका लागि सक्रिय रहने विश्वास व्यक्त गरे ।