काठमाडौं । सेयरबजार परिसूचक नेप्से ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन यस दिन आइतबार नेप्से परिसूचक १८ दशमलव शून्य दुई अंकले ओरालो लागेर २७ सय ३९ दशमलव ९५ विन्दुमा खुम्चिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्न सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शून्य छ अंकले ओरालो लागेर चार सय ७१ दशमलव १९ विन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा यस दिन तीन सय २३ वटा कम्पनीहरूको ५८ हजार एक सय पाँच पटकको कारोबारमा एक करोड ४० लाख नौ हजार सात सय आठ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट यस दिन कुल कारोबार रकम छ अर्ब ५४ करोड ८६ लाख ३८ हजार तीन सय ३५ रुपैयाँ कायम भएको छ ।
धितोपत्र बजारमा यस दिन १३ वटा उपसमूहहरूको सेयर कारोबार भएका छन् । जसमध्ये उत्पादनमूलक उपसमूहको सूचक १२ दशमलव शून्य नौ अंकले उकालो लागेर सात हजार पाँच सय ८० दशमलव ६८ विन्दुमा चढे पनि बाँकी उपसमूहहरूको सूचक भने ओरालो लागेका छन् । सोमध्ये वाणिज्य बैंक उपसमूहको सूचक १२ दशमलव ७४ अंकले ओरालो लागेर १४ सय २२ दशमलव ४८ विन्दुमा झरेकोमा विकास बैंक उपसमूहको सूचक पनि ९७ दशमलव ८४ अंकले ओरालो लागेर पाँच हजार छ सय ७८ दशमलव ३७ विन्दुमा खुम्चिएको छ ।
फाइनान्स उपसमूहको सूचक पनि १३ दशमलव पाँच अंकले ओरालो लागेर २४ सय ४१ दशमलव ३५ विन्दुमा खुम्चिएकोमा जलविद्युत् उपसमूहको सूचक पनि ४२ दशमलव ८५ अंकले ओरालो लागेर ३५ सय ३२ दशमलव ४९ विन्दुमा खुम्चिएको छ । जीवन बीमा उपसमूहको सूचक पनि ५७ दशमनलव १० अंकले ओरालो लागेर १२ हजार नौ सय १२ दशमलव ७१ विन्दुमा खुम्चिएकोमा निर्जीवन बीमा उपसमूहको सूचक पनि ६२ दशमलव ६५ अंकले ओरालो लागेर १२ हजार दुई सय ८६ दशमलव १९ विन्दुमा खुम्चिएको छ । यसैगरी होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः ४८ दशमलव ३५, शून्य दशमलव ८७, सात दशमलव ९६, शून्य दशमलव शून्य तीन, दुई दशमलव ७३ र आठ दशमलव शून्य पाँच विन्दुले खुम्चिएका छन् ।
धितोपत्र बजारमा यस दिन विकास हाइड्रोपावर कम्पनीले सबैभन्दा बढी कमाउँदा नारायणी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । हिमालयन डिष्ट्रिलरी लिमिटेडको भने यस दिन सबैभन्दा बढी अर्थात् प्रतिकित्ता १४ सय २३ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा एकैदिन एक अर्ब ७५ करोड ७९ लाख ३० हजार तीन सय ८६ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।