काठमाडौँ । मंंगलबार नेपाली हिन्दु महिलाहरुले हरितालिका तीज मनाउँदैछन् । भाद्र शुक्ल तृतीयाको दिन मनाउने तीजका दिन हिन्दु महिलाहरूले पानी पनि नखाई व्रत बस्ने प्रचलन छ । यस दिन देशभर पशुपतिनाथसहितका मन्दिरहरुमा व्रतालुहरुको भिड लाग्ने गर्दछ । हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनलाई सहज बनाउन पशुपति क्षेत्र विकास कोषले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कोषले दर्शन, सुरक्षा, स्वास्थ्य सेवा, स्वयम्सेवा, चन्दन तथा प्रसाद वितरण, गीत–संगीत, भजन–कीर्तन, गौदानस्थल व्यवस्थालगायत आवश्यक पूर्वाधार तयार गरिएको जानकारी दिएको छ ।
कोषका अनुसार मन्दिर प्रवेशका लागि चारवटा अलग–अलग मार्ग व्यवस्था गरिएको छ भने दर्शनका लागि बिहान तीन बजेबाट मन्दिर खुल्नेछ । मूल मन्दिरभित्र दर्शनका लागि आठवटा लाइनको व्यवस्था छ । तेस्रो मुलुकका पर्यटकलाई प्रवेश टिकटको आधारमा मेला क्षेत्र (मन्दिर प्राङ्गणबाहेक) भ्रमण गर्न दिइनेछ । यस्तै, चन्दन वितरण तथा गौदान कार्यका लागि विभिन्न स्थानमा आवश्यक व्यवस्था गरिएको छ । कोषले दर्शनका लागि कुनै पनि पास व्यवस्था नगरेको पनि जानकारी दिएको छ । सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा आवश्यकताअनुसार नेपाली सेनाको समेत सहयोग लिइने कोषले जनाएको छ ।
कोषका अनुसार मेला क्षेत्रमा पाकेटमारी र अनियमित क्रियाकलाप हुन नदिन सादा पोसाकमा प्रहरी परिचालन गरी शंकास्पद गतिविधिमा संलग्नलाई निगरानीमा राखिनेछ । स्वास्थ्य शिविर, सरसफाइ तथा स्वयंसेवक व्यवस्थापन समेत चुस्त बनाइएको छ । बहुमूल्य गरगहना लगाएर र स–साना बालबालिकालाई साथमा लिएर पशुपतिनाथको दर्शनमा नआउन कोषले भक्तजनमा अनुरोध गरेको छ । सशस्त्र प्रहरी बल नेपालको स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित सात सय जनशक्ति परिचालन हुनेपशुपतिनाथ मन्दिरमा लाग्ने मेला सुरक्षाको लागि सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित सात सय जनशक्ति परिचालन गर्ने भएको छ । यसमा एक सय ५० जना महिला सशस्त्र प्रहरी कर्मचारीहरु खटिने छन् ।
पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी तथा महिला दिदीबहिनीहरुको सहजताका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीको कमान्डमा परिचालन हुनेछ । पशुपति परिषद्मा सशस्त्र प्रहरी नायब उपरीक्षक किशन केसीको कमान्डमा कमान्ड पोस्ट स्थापना गरिएको छ भने मेलाको ओभरल कमान्ड नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले गर्नेछ । उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयहरुबाट एक सिफ्टमा दुई सय ९१ भन्दा बढी सशस्त्र प्रहरीको सुरक्षा फौज परिचालन हुने सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
त्यसैगरी, आवश्यक परेको समयमा थप मद्दतको लागि नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं, नं. १८ निलबराही गण, नं. २० विपद् उद्धार गण सिनामंगल, नं. २१ दक्षिणकाली गण खुमलटार ललितपुर, नं. २२ गुहेश्वरी गण दुवाकोट भक्तपुर र नं. २४ बाघभैरव गुल्म काठमाडौंमा गरी छ प्लाटुन सुरक्षा फौज तयारी हालतमा राखिएको छ । त्यस्तै, नेपाल एपीएफ अस्पतालले महिला चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मी मेला अवधिभर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नेछ । नं. २० विपद् उद्धार गण सिनामंगलबाट सशस्त्र प्रहरीको गोताखोर विपद् उद्धार र विपद् उद्धार सामग्रीसहित एक सेक्सन वाटर रेस्क्यु टोली राम मन्दिर नजिकै बागमती नदीको किनारमा खटिने जनाइएको छ ।