काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैलेखको पेट्रोलियम र प्राकृतिक ग्यास प्रयोगसम्बन्धी सम्भाव्यता अध्ययनका लागि नेपाल आयल निगमको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको छ। मन्त्रालयले निगमका निर्देशक विनितमणि उपाध्यायको संयोजकत्वमा गठित समितिमा खानी तथा भूगर्भ विभागका सिडिजि धर्मराज खड्का र पेट्रोलियम अन्वेषण परियोजनाका सिडिकेई मनिष कर्ण सदस्य रहेका छन्। आयल निगमकी सहायक प्रबन्धक दिप्ती पौडेललाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ।
गत साउन ३० गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको निर्णयअनुसार समिति गठन गरिएको हो। समितिलाई ३० दिनभित्र दैलेखको प्राकृतिक ग्यासको व्यावसायिक उत्पादन, प्रयोग र सम्भावनाबारे विस्तृत प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए।
यसअघि चीन सरकारको सहयोगमा गरिएको प्रारम्भिक अध्ययनमा दैलेखको जलजले क्षेत्रमा मिथेन ग्याससहित पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको थियो। सोही पृष्ठभूमिमा व्यावसायिक उत्पादनको सम्भाव्यता अध्ययन, आवश्यक पूर्वाधार, प्राविधिक पक्ष, उत्पादन लागत तथा प्रयोगका विकल्पबारे विस्तृत प्रतिवेदन तयार पार्ने जिम्मेवारी समितिलाई दिइएको छ।
मन्त्रालयका अनुसार मिथेन ग्यासबाट खाना पकाउने ग्यास, ट्रान्सपोर्टका लागि सीएनजी, रासायनिक मल र विद्युत् उत्पादनका सम्भावनासमेत रहने अनुमान गरिएको छ। पेट्रोलियम अन्वेषण परियोजनाले आवश्यक तथ्यांक उपलब्ध गराउने र अध्ययनका सम्पूर्ण खर्च आयल निगमले व्यहोर्ने कार्यदेशमा उल्लेख छ।
समितिले प्रतिवेदन पेश गरेपछि दैलेखको प्राकृतिक ग्यासको व्यावसायिक उत्खनन, उत्पादन तथा बजार व्यवस्थापनबारे आगामी रणनीति तय गरिने मन्त्रालयले जनाएको छ।