काठमाडौं । स्काईलाइन इन्फ्रा लिमिटेड तथा हिमालय सेक्युरिटिज बैंकर लिमिटेडबीच सेयर निष्काशन सम्बन्धमा निष्काशन तथा बिक्री प्रबन्ध सम्झौता भएको छ । यो सम्झौताले स्काईलाइन इन्फ्रा लिमिटेडलाई नयाँ व्यावसायिक यात्रा तथा कम्पनीको विस्तारमा थप सहयोग पुर्याउने कम्पनीले जानकारी दिएको छ ।
सम्झौतामा स्काईलाइन इन्फ्राको तर्फबाट राजेश अग्रवाल, सत्यनारायण केयल, सुभाष अग्रवाल, विनोद श्रेष्ठ, प्रतीक अग्रवाल, आकृति अग्रवाल, अंकुर भंगर अग्रवाल र सञ्जय रौनियार तथा वडा कार्यालयको तर्फबाट सुशीलकुमार कानु, सिद्धान्त झुन्झुन्वाला तथा कमलमोहन पोखरेलले प्रतिनिधित्व गरेको कम्पनीको भनाइ छ । यसैगरी हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाषबहादुर श्रेष्ठ र नायब महाप्रबन्धक शंकर राजबाहकको प्रतिनिधित्व रहेको थियो । हिमालय सेक्युरिटिज बैंकर लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त मर्चेन्ट बैंकर संस्था रही मर्चेन्ट तथा इन्भेष्टमेन्ट्स बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
स्काईलाइन इन्फ्रा लिमिटेड सरोवर पोर्टिको ब्रान्डअन्तर्गत चारतारे होटलको रुपमा स्थापित रहेको छ । जसले बैंक्वेट हल, अन्तर्राष्ट्रिय चेन रेस्टुरेन्ट, स्विमिङ पुल, स्पा, क्यासिनो, क्युएफएक्स सिनेमा हलको सेवा सुविधा प्रदान गर्दै आएको छ । यस क्षेत्रका बासिन्दाले यस कम्लेक्सबाट गुणस्तरीय सेवाको अनुभव प्राप्त गर्नका साथै यस स्थानबाट आन्तरिक तथा बाह्य पर्यटकहरूले विश्व स्तरीय सेवा प्राप्त गर्नेछन् ।