काठमाडौं । संविधानसभा सदस्य जीप छिरिङ लामाले मुलुकको निर्माण उद्योग समस्याग्रस्त रहेको बताएका छन् । राजधानीमा शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघको विशेष साधारणसभाको उद्घाटन गर्दै लामाले अहिलेको विषम परिस्थितिमा साना–ठूला सबै निर्माण व्यवसायी समस्यामा रहेको बताए ।
महासंघका पूर्वअध्यक्ष समेत रहेका लामाले निर्माण व्यवसायीहरू एकताबद्ध भएर आफ्नो हक अधिकारका लागि लड्ने बेला आएको बताए । लामाले कांग्रेस तथा नेकपा एमालेजस्ता शक्तिशाली दलको सरकार रहेको वर्तमान अवस्थामा ठोस ढंगले निर्माण उद्योगको समस्या सरोकारवाला निकाय समक्ष प्रस्तुत गर्नुपर्नेमा जोड दिए । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आफ्नो नेतृत्वको कार्य समितिले निर्माण उद्योगको समस्या समाधान गर्न इमान्दार प्रयास गरिरहेको जानकारी दिए ।
साना ठूला सबै किसिमका निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्ने गरी महासंघको वर्तमान नेतृत्वले काम गरिरहेको अध्यक्ष सिंहले बताए । ‘निर्माण व्यवसायीहरू एक भएर अघि बढेमा निर्माण उद्योगका जस्तासुकै समस्या पनि समाधान गर्न सकिन्छ’ अध्यक्ष सिंहले भने ।
विशेष साधारणसभा आयोजना गर्नुको कारण बारे प्रष्ट पार्दै अध्यक्ष सिंहले महासंघको २६औं साधारणसभा तथा १३औँ अधिवेशन २०८२ को माघ १५, १६ र १७ गते गर्ने प्रस्ताव गरेका थिए । महासंघका सल्लाहकार एवम् पूर्वअध्यक्ष सुकुन्तलाल हिराचनले अव्यावहारिक ऐन, नियम तथा मूल्यवृद्धि, म्याद थपमा देखिएको जटिलतालगायतका समस्याबाट निर्माण उद्योग आक्रान्त रहेको टिप्पणी गरे । विशेष साधारणसभामा प्रतिवेदन पेश गर्दै महासचिव रोशन दाहालले महासंघका अहिलेसम्मका उपलब्धि तथा भावी कार्यक्रमहरू सार्वजनिक गरेका थिए भने कोषाध्यक्षको तर्फबाट हिरणकुमार श्रेष्ठले प्रतिवेदन पेश गरे । विशेष साधारणसभाले महासचिव दाहाल तथा कोषाध्यक्ष श्रेष्ठको प्रतिवेदन पास गरेको छ ।
विशेष साधारणसभाकै अवसरमा महासंघको मुखपत्र ‘निर्माण समाचार’को जीप छिरिङ लामा र महासंघका अध्यक्ष रवि सिंहले संयुक्तरुपमा विमोचन गरेका थिए । विशेष साधारणसभामा ७३ जिल्लाका करिब एक हजार प्रतिनिधिहरूको सहभागिता थियो । देशभरका निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघमा २४ हजारभन्दा बढी व्यवसायी आबद्ध छन् ।