काठमाडौं । पोखरामा राष्ट्रिय घर निर्माण फेस्ट आयोजना गरिएको छ । घर निर्माण गर्दा भरपर्दो, सुरक्षित र दिगो कसरी बनाउनेलगायतका आवश्यक सम्पूर्ण सेवाहरु एउटै छतमुनि समेटेर जानकारी दिने उद्देश्यले सो फेस्ट आयोजना गरिएको जनाइएको छ ।
स्किल सेवाको आयोजनामा पोखरा महानगरपालिका १० स्थित अमरसिंह चौरमा सञ्चालन गरिएको दुई दिने फेस्टको पोखराका मेयर धनराज आर्चायले उद्घाटन गरेका थिए । ‘जो गर्छौं नेपालमा गर्छौं’ भन्ने उद्देश्यका साथ स्थापना भएको स्किल सेवाले आयोजना गरेको फेस्टका आयोजकले पाँच हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको थियो । तर छ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । फेस्टमा विशेषज्ञ प्राविधिकहरुद्वारा सात सय जनालाई घर निमार्णका सम्बन्धमा निःशुल्क परामर्श समेत दिइएको थियो । फेस्टको घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तुकलाविद्, नगरपालिकाका अधिकारी, उद्यमी, विद्यार्थी र इच्छुक सर्वसाधारणहरुले अवलोकनसँगै आवश्यक जानकारी लिएका छन् ।
फेस्टमार्फत घर निर्माण गर्दा खर्च कम गर्ने उपायहरुको बारेमा जानकारीसँगै कस्तो खालको सिमेन्ट प्रयोग गर्ने, कस्तो इँट्टा, डन्डी, ग्लास, टायल्स प्रयोग गर्ने भन्ने बारेमा समेत जानकारी समेत दिइएको थियो । सञ्चालक समन कुँवरले घर निर्माणसम्बन्धी मापदण्ड तथा अत्याधुनिक प्रविधिको बारेमा सर्वसाधारण एवम् सरोकारवालाहरुलाई जानकारी दिने मुख्य उद्देश्यसहित फेस्ट आयोजना गरिएको बताए । फेस्टमार्फत समग्र आवास निर्माण क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा आयोजकको रहेको कुँवरले जानकारी दिए ।
स्किल सेवाका सीईओ रमेश तिमिल्सिनाका अनुसार फेस्टमा विभिन्न निर्माणसम्बन्धी कम्पनीहरु, बैंकलगायतका गरी ३२ वटा स्टल रहेका थिए । फेस्टमा इन्टेरियरका सामानहरु सुपथ मूल्यमा उपलब्ध गराइएको, घर निर्माण गर्दा आवश्यक कुरा मात्र राख्दा खर्च कम हुनेलगायतका जानकारी समेत दिइएको उनले बताए । फेस्टमार्फत घर निर्माण गर्दा भरपर्दो, सुरक्षित र दिगो कसरी बनाउने भन्ने कुराको जानकारी सर्वसाधारणसँगै सरोकारवालाहरुलाई दिइएको तिमिल्सिनाले बताए ।