काठमाडौं । सरकारले अघिल्ला वर्षजस्तै यो वर्ष पनि चाडवाडलक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ । चाडवाडको लागि आवश्यक पर्ने सामग्रीमा केहि मूल्य छुट दिई उपभोक्तालाई राहत दिने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो ।
सरकारले उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन हुनेछन् । सुपथ मूल्य पसलबाट दुई दर्जन भन्दा दैनिक प्रयोग हुने सामग्रीहरु छुट मूल्यमा पाउन सक्ने खाद्यले जनाएको छ ।
आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडवाड अवधिभर उक्त पसल सञ्चालनमा ल्याइनेसूचना अधिकारी माधव मिश्रले जानकारी दिए । विभिन्न प्रकारका चामल, दाल, गेडागुडी, पिठो, चिउरा, नून, चिनी, चियापत्ती, घ्यू र तेजन्य सामग्रीहरु सुपथ मूल्य पसलबाट बिक्री हुने उनको भनाइ छ ।
मिश्रका अनुसार खाद्यन्न, दालजन्य र तेलजन्य सामग्रीका साथै ग्यास तथा ग्यास सिलिण्डर समेत बिक्रीमा राखिनेछन् । चाडवाडको क्रममा दसै नजिकिए सँगै सुपथ मूल्य पसल सञ्चालनको तयारीइ भएको हो । दसै पछि आउने तिहार र छठसम्म पसल सञ्चालनमा निरन्तर आउने छ भने छुट मूल्यमा सामग्री पाउने हुदाँ उपभोक्तालाई पनि राहत हुनेछ ।
सुपथ मूल्य पसल घटस्थापनाको एक साता अघि अर्थात, भदौ ३० गतेदेखि छठ पर्वसम्म सञ्चालन हुनेछ । सो पसल ४५ वटा जिल्लाका एक सय ११ वटा स्थानहरुबाट छुट मूल्य सहित सञ्चालन हुनेछन् । आवश्यकता अनुसार थप जिल्ला र स्थानहरुमा पनि पसल सञ्चालन गदै लगिने जनाइएको छ । खाद्यले काठमाडौं उपत्यकाको हकमा भने केन्द्रिय रामशाहपथ, माइतीघर, कालिमाटी, साँखु, दक्षिणकाली र ललितपुरको जावालाखेल, नक्खु, लगायतका स्थानबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्री गर्ने जनाएको छ । काठमाडौं उपत्यका, पोखरा,विराटनगर लगायतका सहर केन्द्रित मात्र नभई धेरै जिल्लाहरुमा सुपथ मूल्य पसल राखी उपभोक्तालाई राहत दिने काम गरेको खाद्यले जनाएको छ ।
यस्ता पसलहरु आवश्यकतानुसार थप जिल्ला र स्थानहरुमा पनि सञ्चालन गरिने तयारी खाद्यको छ । निःशुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवा, सहकारी र डिलहरुकोको माध्यमबाट तोकिए बमोजिमको छुट पाउन सकिनेछ । चाडवाडको समयमा निजी व्यापारीहरुले आफूखुशी मूल्य बढाउने हुदाँ बजार व्यवस्थित गर्न तथा नागरिकहरु महँगीको चपेटामा नपरुनु भनेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको खाद्यका अधिकारीहरु बताउछन् । काठमाडौं उपत्यकामा भने ‘होम डेलिभरी’ को व्यवस्था गरिएको छ । खाद्यका अनुसार काठमाडौं चक्रपथभित्र ‘होम डेलिभरी’को व्यवस्था गरिएको छ । ‘होम डेलिभरी’को सुविधा लिनका लागि निश्चित रकमको सामान खरिद गर्नुपर्ने छ ।
खाद्यले यस वर्ष चामल, गहुँ, चिनी, सबै किसिमका दालहरुमा पाँच रुपैयाँ छुटको व्यवस्था गरेको छ । सबै किसिमका खाने तेलहरु, चिउरा, आटा, पिठो, मैदामा भने सात रुपैयाँ छुटको व्यवस्था गरेको छ । त्यस्तै चियापत्ति, जिराधनिया, रैथाने खाद्य वस्तुमा १० रुपैयाँ छुटको व्यवस्था गरेको छ । खाद्यले खाद्य सामग्रीका साथै दशै र तिहारका लागि खसीबोका र च्याङग्रा बिक्री गर्ने भएको छ ।
कम्पनीले तीन सय वटा च्याङग्रा मुस्ताङबाट र एक हजार पाँच सय वटा खसीबोका दाङ, हेटौंडा, नवलपरासी लगायतका क्षेत्रबाबाट ल्याउने तयारी अघि बढाएको छ । मासुजन्य पदार्थमा भने १० रुपैयाँ छुटको व्यवस्था गरेको छ । सूचना अधिकारी मिश्रले खसीबोका र च्याङग्रा पनि अनलाईन बुकिंङ मार्फत अर्डर दिन सकिने बताए । ग्राहकहरुको सहजताका लागि अनलाइन बुकिङ प्रयोगमा ल्याउन लागिएको बताइएको छ ।
बजारमा मूल्य वृद्धि हुने भएकाले मूल्य नियन्त्रण गर्दै सन्तुलन कायम गर्नका लागि पनि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। सहुलियत पसलका लागि सरकारले तीन करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ। मन्त्रालयका अनुसार सरकारले सुपथ पसलका लागि दुई करोड ५० लाख रुपैयाँ विनियोजन गरेको हो । सरकारी स्वामित्वका संस्थानहरुले सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलको कारण बजारमा मूल्य वृद्धि नियन्त्रण हुन सघाउ पुग्ने विश्वास लिएको छ ।