काठमाडौं । काठमाडौंको गोंगबुमा ४ करोड २५ लाख ५० हजार रुपैयाँ र करिब १० किलो सुनसहित पक्राउ परेका विनोदकुमार श्रेष्ठको छोराको कार्यालयमा पनि प्रहरीले छापा मारेको छ। विनोदका छोरा राजकुमार श्रेष्ठको नयाँबजारस्थित कार्यालयमा छापा मार्दा प्रहरीले नगद र सुनका गरगहना बरामद गरेको हो। सनम खड्गीको घरमा कोठा भाडामा लिएर बस्दै आएका राजकुमारको अफिसबाट प्रहरीले ९० हजार ५ सय रुपैयाँ नगदसहित विभिन्न सुनका गरगहना फेला पारेको जनाइएको छ। बरामद गरिएका सुनका गरगहनामा ५ थान छड्के तिलहरी, १ थान नौगेडी, २ थान बेरुवा औंठी र १ थान सुनको लकेट समावेश रहेको छ। यसअघि बाबु विनोदकुमार श्रेष्ठको गोंगबुस्थित घरमा छापा मार्दा प्रहरीले ४ करोड २५ लाख ५० हजार रुपैयाँ नगद, ९ किलो ८३७ ग्राम सुन र ३ किलो २१८ ग्राम चाँदीका गरगहना बरामद गरेको थियो। पक्राउ परेका विनोदलाई बरामद नगद र गरगहनासहित राजश्व अनुसन्धान विभाग, हरिहर भवन पठाइएको प्रहरीले जनाएको छ।