काठमाडौं । जेनजी आन्दोलन तीव्र बन्दै गएसँगै संचार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा मंगलबार दिउँसो आक्रोशित प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । सोमबारको भिडन्तमा १९ जनाको ज्यान गएपछि आज देशभरै प्रदर्शन चर्किएको छ । स्थानीय सुरक्षा स्रोतका अनुसार सुरुमा प्रदर्शनकारीहरूले मन्त्री गुरुङको घरमा ढुंगामुढा गरेका थिए । त्यसपछि नियन्त्रणबाहिर गएको भिडले घरमा आगजनी गरेको हो । अहिले घटनास्थल वरिपरि ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको छ । प्रदर्शनकारीहरूले सोमबारको प्रदर्शनका क्रममा भएको प्रहरी दमन र मृत्युको विरोध गर्दै विभिन्न ठाउँमा आक्रामक गतिविधि गरिरहेका छन् । घटनास्थल नजिकैको सडकमा अहिले पनि तानावपूर्ण स्थिति छ । सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरिरहेको छ भने थप हिंसात्मक घटना रोक्न उच्च सतर्कता अपनाइएको जनाएको छ ।