काठमाडौं । जेनजी युवाहरूको उग्र प्रदर्शनको क्रममा मंगलबार सर्वोच्च अदालतमा आगजनी हुँदा भवन पूर्णरुपमा क्षतिग्रस्त भएको छ। आगलागीले मुद्दाका मिसिल, सर्भर, इजलासलगायतका महत्त्वपूर्ण सामग्री पूर्णरुपमा नष्ट भएपछि सर्वोच्च अदालतले सबै पेसी अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ। बुधबार बिहान सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको हुँदा आजका लागि तोकिएका सबै मुद्दाको पेसी स्थगित गरिएको छ। भोलिदेखि तोकिएका पेसीमा रहेका मुद्दाहरूको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।”आगलागीका कारण न्यायिक प्रक्रियामा ठुलो अवरोध सिर्जना भएको सर्वोच्च अदालतका एक अधिकारीले जनाएका छन्। सर्वोच्च अदालतको संरचना पूर्णरुपमा नष्ट भएपछि आवश्यक कागजात, अभिलेख र डिजिटल डाटासमेत जोखिममा परेका छन्। सरकारले घटनाबारे उच्चस्तरीय छानबिन समिति गठन गर्ने तयारी गरेको छ भने कानुनी प्रक्रिया सञ्चालनका लागि वैकल्पिक व्यवस्थाबारे छलफल सुरु भएको स्रोतले जनाएको छ।