काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यु नेपाली सेनाले क्रमशः खुकुलो पार्ने भएको छ । बुधबार अद्यावधिक जानकारीमार्फत सेनाले अत्यावश्यक कार्यको लागि आवतजावत गर्न सकिने समय पनि मिलाएको हो ।
नेपाली सेनाका अनुसार बिहीबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा रहनेछ भने बेलुकी ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यु रहनेछ । सेनाले अत्यावश्यक कार्यको लागि आवतजावत गर्न सकिने समय बिहीबार बिहान ६ देखि बिहान १० बजेसम्म तोकिएको छ भने बिहीबार साँझ ५ देखि ७ बजेसम्म निर्धारण गरिएको छ ।
अत्यावश्यक सेवा थप, कर्मचारी कार्यालय जानसक्ने
नेपाली सेनाले बिहीबारदेखि अत्यावश्यक सेवाहरु थप गरेको छ । यसअनुसार निषेधाज्ञा र कर्फ्युको दौडान समेत अत्यावश्यक सेवाका (एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने) सवारीसाधन सञ्चालन गर्न सकिने भएको छ ।
त्यसैगरी, बिहीबारदेखि विभिन्न सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीहरुले आफ्नो परिचयपत्र देखाई कार्यालय जान सक्ने सेनाले जनाएको छ ।
त्यस्तै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरुले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सकिनेछ । आवश्यक सहायताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्न सेनाले अनुरोध गरेको छ ।
काठमाडौं उपत्यकाबाहिरको हकमा सम्बन्धित जिल्लाको सुरक्षा परिस्थितिअनुरुप जिल्ला सुरक्षा समितिहरुबाट निर्णय तथा समन्वय गरिएबमोजिम हुनेछ । सेनाले सुरक्षाकर्मीहरुलाई सहयोग समेत गर्न आग्रह गरेको छ ।