काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले माग र आपूर्तिको सन्तुलन मिलाउन सोमबार बैठक आयोजना गरेको छ । भोलि ११ बजेका लागि तय गरिएको बैठकमा निजी क्षेत्रका छाता संघहरु, आपूर्ति व्यवस्थासँग सम्बन्धित विभाग र संस्थाहरुसँग आपूर्ति व्यवस्थापनलगायतका विषयमा बैठक आयोजना गरिएको छ ।
यही भदौ २३ र २४ को जेन–जी प्रदर्शनसँगै देशको आयात र निर्यात प्रभावित भएको भन्दै मन्त्रालयले नयाँ सरकार गठन सुरु भएसँगै तदारुकता देखाएको हो । चाडपर्वको मुखमा देखिएको पछिल्लो परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने अन्योल देखिएको छ । मन्त्रालयका अनुसार भारततर्फ वीरगन्ज भन्सार शनिबारदेखि नै सञ्चालनमा आएको छ ।
त्यस्तै, काँकडभित्ता भोलिदेखि सञ्चालनमा आउने भएको छ । बंगलादेशसम्मको अन्य अवस्था सामान्य रहेको छ भने भद्रपुर, विराटनगर, भैरहवा, कैलाली, नेपालगञ्ज र जनकपुर भन्सार कार्यालयमा जेन–जी प्रदर्शनका क्रममा क्षति भएको मन्त्रालयले जनाएको छ । त्यसबाहेक चीनतर्फ कोरोला नाका सञ्चालनमा आएको छ । शनिबार ४५ ट्रक र ७५ ईभी नेपालतर्फका भन्सार कार्यालयमा आएका छन् भने तातोपानी र टिमुरे नाका असारको बाढी र पहिरोका कारण बन्द अवस्थामा नै छन् ।
यसले आयातनिर्यात प्रभाव भएको छ । मन्त्रालयले आयातनिर्यात चुस्त पार्न अन्तर्निकायगत समन्वय जरुरी रहेको उल्लेख गरेको छ । खासगरी निजी क्षेत्रसँग पनि समन्वय गर्नुपर्ने देखिएको मन्त्रालयले जनाएको छ । चाडपर्वको मौसम आएसँगै बजारमा पर्ने प्रभावको विश्लेषण गरी माग र आपूर्ति प्रभाव नपर्ने गरी कार्यसम्पादन भइरहेको छ ।