लण्डन । पेपल र सिटी ग्रुपसहितका अमेरिकी वित्त कम्पनीहरूले बेलायतमा एक अर्ब २५ करोड पाउन्ड (एक अर्ब ७० करोड डलर) लगानी गर्ने योजना सार्वजनिक गरेका छन् ।
एएफपीका अनुसार प्रधानमन्त्री किर स्टार्मरले आइतबार यसलाई स्वागत गर्दै यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राज्य भ्रमणको केही दिनअघि आएको बताए । अग्रणी अमेरिकी कम्पनीहरूको यस लगानीमा बैंक अफ अमेरिका र एस एन्ड पी ग्लोबल पनि समावेश छन् । योजनाअनुसार लन्डन, एडिनबर्ग, बेलफास्ट र म्यानचेस्टरमा करिब एक हजार आठ सय नयाँ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।
सन् २०१९मा महारानी एलिजाबेथ द्वितीयले आफ्नो पहिलो कार्यकालमा आयोजना गरेको दोस्रो राजकीय भ्रमणपछि ट्रम्पको यो पहिलो राजकीय भ्रमण हो । मंगलबारदेखि सुरु हुने भ्रमणका लागि बेलायतले तयारी गरिरहेको बेला लगानी घोषणा भएको हो । प्रधानमन्त्री स्टार्मरले भने, ‘हाम्रा सहयोगीहरूसँग मिलेर हामी यहाँ रोजगारी सिर्जना गरिरहेका छौँ ।’ यौन अपराधी जेफ्री एपस्टेनसँगको मित्रताका कारण वासिङ्टनस्थित राजदूत पिटर म्यान्डेलसनलाई बर्खास्त गरेपछि घरेलु राजनीतिक संकट झेलिरहेका स्टार्मरले यसलाई आफ्नो लागि सकारात्मक सन्देशका रूपमा लिएका छन् ।
सम्पत्ति कर कम तिर्ने घोटालामा परेर हालसालै आफ्नो सहायक गुमाउनुभएका संकटग्रस्त नेता स्टार्मरले एक्समा लेखेका छन्, ‘यो लगानीले बेलायतलाई विश्वव्यापी वित्तीय नेतृत्वमा पुष्टि गर्दछ ।’
योजनाअनुसार बैंक अफ अमेरिकाले उत्तरी आयरल्यान्डमा आफ्नो पहिलो सञ्चालन सुरु गर्दै बेलफास्टमा एक हजार रोजगारी सिर्जना गर्नेछ । सिटी ग्रुपले भने यूके अपरेसनहरूमा एक अर्ब १० करोड पाउन्ड लगानी गर्नेछ । यसमा उत्तरी आयरल्यान्डसमेत समावेश हुनेछ । सिटी ग्रुप अहिले नै बेलफास्टमा चार हजारभन्दा बढी कर्मचारीसहित प्रमुख रोजगारीदातामध्ये एक हो ।
बेलायत सरकारले यी लगानीहरूले ‘बेलफास्टलाई प्रमुख प्रविधि पावरहाउसका रूपमा स्थापित गर्ने’ टिप्पणी गरेको छ । यसैबीच, एस एन्ड पी ग्लोबलले उत्तरी इङ्ग्ल्यान्डको म्यानचेस्टरस्थित आफ्ना कार्यालयहरूमा ४० लाख पाउन्डभन्दा बढी लगानी गर्ने तयारी गरेको छ । यसले करिब तीन हजार कार्यबललाई थप बलियो बनाउन दुई सय स्थायी रोजगारी सिर्जना गर्न सहयोग गर्नेछ ।
पेपलले ‘उत्पादन आविष्कार र वृद्धि’मा १५ करोड पाउन्ड लगानी गर्नेछ भने ब्ल्याकरोकले स्कटल्यान्डको राजधानी एडिनबर्गमा नयाँ कार्यालय खोलेर युके इन्टरप्राइज डाटा सेन्टरहरूमा ५० करोड पाउन्ड लगानी गर्ने योजना बनाएको छ । यससँगै कम्पनीले ग्राहकहरूको तर्फबाट अर्को वर्ष युके बजारमा सात अर्ब पाउन्ड छुट्याउने अपेक्षा गरिएको छ ।
बुधबार, ट्रम्पलाई विन्डसरमा राजा चाल्र्स तृतीय र राजपरिवारका अन्य सदस्यहरूले स्वागत गर्ने कार्यक्रम रहेको छ । अर्को दिन प्रधानमन्त्री स्टार्मरलाई भेट्ने उनको भ्रमणले ट्रान्साटलान्टिक आर्थिक सम्बन्ध सुदृढ पार्नमा केन्द्रित हुने अपेक्षा गरिएको छ ।