काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगीहरुलाई उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरेको छ । सोमबार मन्त्रालयका सचिवद्वय डा. रामप्रसाद घिमिरे र कृष्ण बहादुर राउतले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुसँग मन्त्रालयमा छलफल गर्दै मुलुकलाई नयाँ ढंगबाट अगाडि बढाउन निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए । निजी क्षेत्रलाई विद्यमान अवस्थाबाट अगाडि बढाउन आवश्यक सहयोग गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनीहरुको भनाइ थियो । सचिवद्वयले आउँदो चाडपर्वलाई मध्यनजर गर्दै आवश्यक खाद्यान्नलगायतका सामाग्रीहरु पर्याप्त मौज्दात रहेकाले कुनै अभाव नहुने जानकारी दिए । उनीहरुले माग, आपूर्ति र प्रतिकूल प्रभाव पार्ने गरी वस्तु सञ्चित नगर्न, नगराउन उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, विक्रेतालगायतलाई अनुरोध समेत गरे । साथै, मन्त्रालयले आपूर्ति व्यवस्थामा ठूलो असर नपर्ने देखिएकाले वस्तुहरु अनावश्यकरुपमा सञ्चित नगर्न सर्वसाधारण समेत आग्रह गरेको छ । परिस्थिति सामान्य बन्दै गएकोले निजी क्षेत्रलाई आफ्ना उद्योग व्यवसाय सुचारू गर्न समेत आह्वान गरेको छ ।
मन्त्रालयले आयात सहज गर्न कोरोल्ला नाका खुला गरिएको तथा सो नाकाबाट ठूलो मात्रामा सामानहरु भित्रिरहेको जानकारी गराउँदै तातोपानी नाका समेत खुलाउन प्रयास भइरहेको जनाएको छ । साथै, दक्षिणतर्फका नाकाहरू समेत सुचारू हुँदै गएको पनि जानकारी दिए । सो छलफलमा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अप्ठ्यारोमा परेको मुलुकको अर्थतन्त्रलाई सबै मिलेर अगाडि बढाउने वातावरण बनाउन आवश्यक रहेको बताए । उनले उत्पादनमूलक उद्योग, होटेल तथा रिटेल चेन तथा साना व्यवसाय तथा उद्योगी व्यवसायीहरूका निजी आवास तथा भवनमा भएको आगजनी, लुटपाट तथा तोडफोडले निजी क्षेत्रलाई निराश बनाए पनि नयाँ हौसलासहित उठ्ने प्रयास गरिरहेको बताए । सरकारसँग नजिक रहेर काम गर्न निजी क्षेत्र प्रतिबद्ध रहेको बताउँदै उनले सरकारले निजी क्षेत्रलाई आत्मविश्वासिलो बनाउनुपर्नेमा जोड दिए ।