काठमाडौं । ललितपुर महानगरपालिका–१८ भैँसेपाटीस्थित सङ्घीय मन्त्री आवास, प्रदेश प्रमुख र मुख्यमन्त्री आवासमा जेन–जी आन्दोलनका क्रममा भएको आगजनीपछि प्रारम्भिक क्षति विवरण सड्ढलन सुरु भएको छ ।
सङ्घीय सचिवालयका अनुसार भदौ २४ गतेको घटनामा क्षति पुगेका संरचनाको विवरण एक हप्ताभित्र तयार हुने अनुमान गरिएको छ । सचिवालयका सुपरिटेन्डिङ इञ्जिनियर चक्रवती कण्टका अनुसार प्रारम्भिक विवरण सड्ढलन अघि बढाइएको हो । भैँसेपाटीस्थित ९६ रोपनी १० आना क्षेत्रफलमा निर्माण गरिएका सङ्घीय मन्त्री, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि बनेका २७ वटा अत्याधुनिक सुविधासम्पन्न भवन पूर्णरूपमा जलेका छन् । गत असारमा मात्र मन्त्रीहरू सो आवासमा सरेका थिए । त्यसैगरी, २७ रोपनी १२ आना क्षेत्रफलमा सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बनेका सम्पर्क कार्यालयमा पनि आगजनी भएको छ ।