काठमाडौं । जनमत पार्टीका पदाधिकारी तथा नेताहरूले अध्यक्ष सीके राउतलाई नेतृत्व छाड्न २४ घण्टे अल्टिमेटम दिएका छन्। वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा संघका संयोजक सञ्जयकुमार यादवसहित ६ जना नेताले सामूहिक हस्ताक्षर गर्दै अल्टिमेटम दिएको हुन्।
उनीहरूले अध्यक्षले पद छाडेमा पार्टीलाई थप सशक्त, लोकतान्त्रिक, जवाफदेही र जनउत्तरदायी बनाउन सकिने भन्दै एकताबद्ध भएर काम गर्ने प्रतिवद्धता जनाएको पत्रमा उल्लेख छ। संगठन विभाग प्रमुखसमेत रहेका अध्यक्षका सहोदर दाजु जयकान्त राउतलाई पनि पद खाली गर्न पत्रमार्फत आग्रह गरिएको छ।
नेताहरूले जेनजी आन्दोलनले नेपालको राजनीतिमा ऐतिहासिक मोड ल्याएको भन्दै यस आन्दोलनले सत्तारूढ गठबन्धन, प्रधानमन्त्री, शीर्ष नेता तथा प्रमुख प्रतिपक्षप्रति गम्भीर प्रश्न उठाएको उल्लेख गरेका छन्।
अध्यक्षलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, “देशको राजनीतिक, सामाजिक तथा प्रशासनिक प्रणालीमा व्यापक शुद्धीकरणको आवश्यकता तीव्र बनेको छ। यस्तो अवस्थामा जनमत पार्टीले आत्मसमीक्षा गर्दै परिवर्तनको बाटो लिनु अपरिहार्य छ।”
उनीहरूको भनाइमा, जनताको समर्थनले पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता दिलाए पनि पछिल्लो नेतृत्वले कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव र जनभावनासँग विमुख गतिविधि देखाएको आरोप छ।