काठमाडौं । एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले राजीनामा दिएका छन् । बैंक सञ्चालक समितिले न्यौपानेको राजीनामा स्वीकृत गरी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीलाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ ।
बैंकका अनुसार न्यौपानेले दिएको राजीनामा बिहीबार बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको हो । उनले पारिवारिक कारण देखाउँदै बैंकको सीईओबाट राजीनामा दिएका हुन् । न्यौपाने बैंकमा पहिलो कार्यकलको चार वर्ष पूरा गरी दोस्रो कार्याकालका लागि पुनः नियुक्त भएका थिए । दोस्रो कार्यकाल सकिन केही समय बाँकी रहेकै अवस्थामा प्रमुख कार्यकारी न्यौपानेले राजीनामा दिएका हुन् ।
बैंक निकट स्रोतका अनुसार पारिवारिक कारणअन्तर्गत न्यौपाने आफ्नो र श्रीमती समेतको स्वास्थमा समस्या देखिएपछि पदबाट राजीनामा दिएका हुन् । उनको श्रीमतीको आन्द्रामा समस्या देखिएको र श्रीमतीलाई दिल्लीमा लगेर उपचार गर्नुपर्ने र न्यौपाने स्वयम्को पनि नाकको अपरेसन गरेकाले चार पाँच महिना आराम गरेर बस्नुपर्ने डाक्टरले सल्लाह दिएका थिए । सोही कारण आफ्नो कार्यकाल झण्डै एक वर्ष बाँकी रहकै अवस्थामा प्रमुख कार्यकारी न्यौपानेले राजीनामा दिएका हुन् । आफ्नो र श्रीमती समेतका स्वास्थको लागि चार पाँच महिना बिदा लिएर आराम गरेर बस्नुपर्ने र त्यसपछि बैंकमा फर्कँदा कार्यकाल सकिन केही समय मात्र बाँकी रहने भएकाले पदमा बसिरहनु उपयुक्त नहुने हुँदा राजीनामा दिएको न्यौपाने निकट स्रोतले बताएको छ ।