दोलखा । जनमुखी बचत तथा ऋण सहकारी संस्थाको कुल पुँजी एक अर्ब ३८ करोड ७६ लाख ३४ हजार आठ सय ७८ रुपैयाँ पुगेको छ । जिल्लाको वैतेश्वर–५ मैनापोखरीमा मुख्य कार्यालय रहेकोे संस्थाको आइतबार सम्पन्न २८औँ वार्षिक साधारणसभामा सो जानकारी दिइएको हो । वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाको उपस्थितिमा उद्घाटन गरिएको साधारणसभामा संस्थाको वार्षिक आयव्यय प्रतिवेदन अध्यक्ष माधव दाहालले सार्वजनिक गरेका थिए ।
२८ वर्षअघि साविकको काब्रे गाविसलाई कार्यक्षेत्र बनाउँदै स्थापना भएको उक्त सहकारीले छोटो समयमै आफ्नो कार्यक्षेत्रलाई फराकिलो बनाउँदै झण्डै साढे एक अर्ब पुँजी परिचालन गर्न सफल भएको अध्यक्ष दाहालले बताए । कार्यक्रममा वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले सरकार र राष्ट्रिय सहकारी विभागले जारी गरेको नीति, नियमन प्राधिकरणलगायतका नियामक निकायहरुबाट प्राप्त निर्देशनले पालन गर्न आग्रह गरे । स्थानीयको मागलाई नजिकबाट सम्बोधन गर्ने र समस्या टार्ने माध्यम नै सहकारी भएकाले सहकारीको संरक्षणमा सबै लाग्नुपर्ने उनको भनाइ छ ।
अध्यक्ष लामाले सदस्यहरुको बचत सुरक्षाका लागि स्थानीय सरकार सधैँ सकारात्मक रहेकोे समेत बताए । करिब २२ हजार सदस्य आबद्ध रहेकोे उक्त संस्थाको आव २०८२/८३ को वार्षिक प्रगति विवरण सचिव लक्ष्मण चौलागाईले प्रस्तुत गरेका थिए । संस्थाको हाल सेयर पुँजी १० करोड ७३ लाख २५ हजार दुई सय पुगेको जनाइएको छ ।