काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थम्पसनबीच सोमबार अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ।
भेटवार्तामा नेपालको हालको परिवर्तित अवस्था, निकट भविष्यमा सम्पन्न गर्नुपर्ने निर्वाचन, पुनर्निर्माण योजना, निजी क्षेत्रको मनोबल उच्च बनाउनका पहलहरू र अमेरिकाबाट हुन सक्ने सहयोगबारे छलफल भएको मन्त्रालयले जनाएको छ।
अर्थमन्त्री खनालले विशेष परिस्थतिमा गठन भएको वर्तमान सरकारको प्राथमिक कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको उल्लेख गर्दै, पुनर्निर्माण योजना र सहुलियत प्याकेजमार्फत निजी क्षेत्रलाई टेवा दिने प्रयास भइरहेको बताए।
अमेरिकी राजदूत थम्पसनले हालैका घटनामा ज्यान गुमाउने परिवारप्रति समवेदना प्रकट गर्दै अमेरिकाले कठिन परिस्थितिमा नेपाललाई साथ दिने प्रतिबद्धता दोहोर्याए। उनले मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) अन्तर्गत सञ्चालन भइरहेका परियोजनाहरू तोकिएको समयमै सम्पन्न गर्न सरकारको सक्रियता र प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिए।
जवाफमा अर्थमन्त्री खनालले परियोजनाहरू सफलतापूर्वक कार्यान्वयन गर्न सरकारबाट ढिलाइ नहुने आश्वासन दिए। साथै, उनले नेपालको सामाजिक–आर्थिक विकासमा अमेरिकाबाट हुँदै आएको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता सहयोग निरन्तर हुने विश्वास व्यक्त गरे।
उक्त बैठकमा अर्थसचिव घनश्याम उपाध्याय, वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका पदाधिकारी तथा अमेरिकी दूतावासका पदाधिकारीहरूको सहभागिता रहेको थियो।