काठमाडौं । गत भदौ २४ गतेको जनविद्रोहमा प्रदर्शनकारीको पिटाइबाट सख्त घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोराबुहारी युरोप भ्रमणमा रहेको थाहा भएको छ ।
सभापति देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि प्रदर्शनकारीहरुले सांघातिक आक्रमण गरेका थिए । अहिलेसम्म देउवा दम्पती सैनिक घेराभित्रै अज्ञातस्थलमा उपचाररत रहेको बताइएको छ ।
देउवा दम्पतीमाथि आक्रमण हुनुअघि नै छोरा जयवीर सिंह देउवा र बुहारी सिवाना श्रेष्ठ देउवा मामा माइजु भूषण राणा र शैलजा राणासँगै गत अगस्ट २८ तारिकमा जर्मनी गएका थिए । उनीहरु परराष्ट्र मन्त्रालयको राहदानी छपाइको बाँकी काम मिलाउने सिलसिला मिलाएर युरोप गएको बताइएको छ ।
उनीहरु सेप्टेम्बर २२ तारिकमा स्वदेश फर्किने भनिएको थियो । तर देशमा उत्पन्न विषम परिस्थितिका कारण युरोप बसाइ केही दिन लम्बिएको बताइएको छ । नेपाली राजदूत डा. सहिल रुपाखेतीले उनीहरुको बसाइको संयोजन गरेको बुझिएको छ । देउवा पत्नी आरजु राणाका भाइ भूषण राणा उनीहरुको छाया शक्तिकेन्द्र मानिएको छ ।