काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले एमसीसी नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजनाअन्तर्गत निर्माण गरिने विद्युत् प्रसारण लाइनको ११७ किमि खण्डको निर्माण सम्झौता गरेको छ ।
यो सम्झौतासँगै एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि विद्युत् प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण सम्झौता सम्पन्न भएको छ । कम्प्याक्ट कार्यान्वयनका सन्दर्भमा यो महत्वपूर्ण हो । प्रसारण लाईन निर्माणको जिम्मा आशिश–बोज्लर संयुक्त उपक्रमले पाएको छ । सो निर्माण कम्पनीले काठमाडौँमा निर्माणाधीन लप्सिफेदी सबस्टेसनबाट नुवाकोटमा निर्माणाधीन रातमाटे सबस्टेसन हुँदै मकवानपुरमा निर्माणाधीन नयाँ हेटौँडा सबस्टेसनसम्मको ११७ किमि प्रसारण लाइन निर्माण गर्नेछ ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खरिद प्रक्रियाबाट एमसीए–नेपालले प्रदान गरेको उक्त ठेक्का करिब सात सय ६६ लाख अमेरिकी डलरको रहेको छ । यस सम्झौताअन्तर्गत उक्त चार सय केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण तथा सञ्चालनलगायतका काम गरिनेछ । एमसीए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट र आशीष–बोज्लर संयुक्त उपक्रमका प्रतिनिधि निर्माण गौलीले शुक्रबार एक समारोहबीच निर्माण सम्झौतामा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा एमसीसी र एमसीए–नेपालका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल. फ्रान्सिस्कोले निर्माण सम्झौतामा भएको हस्ताक्षरले नेपाल कम्प्याक्ट कार्यान्वयनमा भइरहेको उल्लेख्य प्रगतिको प्रतिनिधित्व गर्ने बताइन् । ‘यो उपलब्धि यस महत्वपूर्ण प्रसारण लाइनको सफलतापूर्ण निर्माण तथा नेपाली जनताको भावी विकास एवम् समृद्धिका लागि एमसीए–नेपालको गहन प्रतिबद्धता तथा लगनशीलताको परिणाम हो’, उनले भनिन् ।
एमसीए–नेपालका कार्यकारी निर्देशक विष्टले आशिष–बोज्लर संयुक्त उपक्रमसँग यो सम्झौता भएसँगै एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका सन्दर्भमा एमसीए–नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए । विद्युत् प्रसारण आयोजनाअन्तर्गत विद्युत् प्रसारण लाइनका सबै खण्डको निर्माणसम्बन्धी सम्झौता सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ ।
एमसीए–नेपालले नुवाकोटमा निर्माणाधीन रातमाटे सबस्टेसनदेखि तनहुँमा निर्माणाधीन नयाँ दमौली सबस्टेसनसम्मको, उक्त सबस्टेसनदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन नयाँ बुटवल सबस्टेसनसम्मको र त्यहाँदेखि नेपाल–भारत सीमासम्म गरी १९८ किमि विद्युत् प्रसारण लाइन निर्माणका लागि सम्झौता यसअघि नै गरिसकेको छ । यसका अतिरिक्त रातमाटे सबस्टेसन, नयाँ दमौली सबस्टेसन र नयाँ बुटवल सबस्टेसन निर्माणसम्बन्धी सम्झौता पनि भइसकेको छ । एमसीसी नेपाल कम्प्याक्ट निजी क्षेत्रबाट लगानी अभिवृद्धिका लागि सकारात्मक वातावरण सिर्जना गर्दै नेपालको दीर्घकालीन आर्थिक विकासका लागि प्रदान गरिएको ऐतिहासिक सहायता हो । विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना कार्यान्वयन गरी महत्वपूर्ण पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार अभिवृद्धि र नेपालको यातायात सञ्जालमा सुधार गरेर अन्तरआबद्धता विस्तार गर्दै आर्थिक वृद्धिमा टेवा पुर्याउने उद्देश्य एमसीसी नेपाल कम्प्याक्टले लिएको छ ।