काठमाडौ । निजी क्षेत्रले दुहबी नगरपालिकालाई कार्यालय सञ्चालनार्थ जिन्सी सामग्री हस्तान्तरण गरेको छ । जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजानी भएबाट कार्यालयका भौतिक सामग्रीहरु क्षतिग्रस्त भएका थिए ।
कार्यालयका दैनिक कार्यहरु सुचारु गराउन मोरङ उद्योग व्यापार संघ, नेपाल उद्योग परिसंघ, कोशी र उद्योग संगठन मोरङले दुहबी नगरपालिकाको कार्यालयलाई तीन लाख रुपैयाँ बराबरको कार्यालय उपकरण र जिन्सी सामग्रीहरु उपलब्ध गराएको हो । नगरपालिकाको कार्यालय सञ्चालनमा सहयोग पुर्याउने अभिप्रायले संघ, संगठन र परिसंघले संयुक्तरुपमा दुहबी नगरपालिकालाई दुई थान कम्प्युटर, दुई थान प्रिन्टर, दुई थान अफिस टेबुल, दुई थान रिभल्विङ चेयर, चार थान भिजिटर चेयर, एक/एक थान स्टिल दराज र बुक केस उपलब्ध गराएको छन् । दुहबी नगरपालिकाका नगर प्रमुख वेद नारायण गच्छदार र प्रमुख प्रशासकीय अधिकृत सवर्ण घिमिरेलाई संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मी, संगठनका महानिर्देशक चुडामणी भट्टराई र परिसंघका महानिर्देशक विजय हरि शर्माले उक्त सामग्रीहरु हस्तान्तरण गरेका थिए ।