काठमाडौं। अन्तरिम सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई २०८२ कार्तिक १०–१३ गते भारतको नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौँ बैठकमा सहभागी हुन स्वीकृति दिएको छ। सरकारले भदौ २३–२४ गतेको जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको पहिचान र प्रभावकारी उपचारको व्यवस्था गर्न गृह मन्त्रालयमार्फत परिचय पत्र वितरण गर्ने निर्णय पनि गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरू तोक्ने, त्यहाँ जेनजी क्लिनिक सञ्चालन गर्ने र निःशुल्क आवतजावतको व्यवस्था मिलाउने भएको छ। साथै, हटलाइन र सम्पर्क व्यक्ति तोकी घाइतेका लागि सहजीकरण गर्ने निर्णय पनि भएको प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए। घाइतेको वर्गीकरणका लागि प्राविधिक समिति गठन गरी तत्काल कार्य प्रारम्भ गरिनेछ र वर्गीकरणको आधारमा राहत उपलब्ध गराइनेछ। त्यसैगरी, मुग्लिङ–पोखरा सडकअन्तर्गत मुग्लिङदेखि आँबुखैरेनीसम्म नयाँ सडक रेखांकन स्वीकृत भएको छ। सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ १५–१५ मिटर गरी कुल ३० मिटरको मापदण्ड तय गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमल्सिनालाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।