काठमाडौं । सेयरबजारमा चाडपर्वको प्रभाव देखिएको छ । दशैं सुरु भएलगत्तै सेयरबजार परिसूचक नेप्से बढे पनि कारोबार रकम भने विगतका दिनहरुको तुलनामा घटेको छ ।
लगानीकर्ताहरुको पहिलो प्राथमिकता सेयर किन्नुभन्दा पनि चार्डपर्व मनाउनु भएकाले अहिले सेयर किनबेच भएको छ । जसले गर्दा नेप्से परिसूचक उकालो लागेको भए पनि कारोबार रकम भने तीन अर्ब रुपैयाँभन्दा कममा झरेको छ ।
साताको पहिलो तथा दशैँ बिदाअघिको अन्तिम कारोबार दिन आइतबार सूचक नेप्से ११ दशमलव ५१ अंकले उकालो लागेर २६ सय ६३ दशमलव ५१ विन्दुमा चढेको छ । धितोपत्र बजारमा आइतबार तीन सय १४ वटा सेयर कारोबारमा आएका थिए । जसबाट ७५ लाख ११ हजार एक सय ९३ कित्ता सेयर बिक्रीपछि कुल कारोबार रकम दुई अर्ब ९३ करोड ५९ लाख १४ हजार नौ सय १० रुपैयाँ कायम भएको छ ।
यसदिन १३ मध्ये तीन उपसमूहको सूचक ओरालो लागे पनि बाँकी उकालो लागेका छन् । जसमध्ये होटल तथा पर्यटन, अन्य र व्यापार उपसमूह खुम्चिएका हुन् । यीबाहेक वाणिज्य बैंक ११ दशमलव ७४, विकास बैंक २८ दशमलव सात, जलविद्युत् २४ दशमलव ४६, फाइनान्स दुई दशमलव ५०, जीवन बीमा एक सय एक दशमलव ५२, निर्जीवन बीमा ३६ दशमलव ७२ अंकले उकालो लागेका छन् । यसैगरी लगानी, उत्पादनमूलक, लघुवित्त र सामूहिक लगानी कोष उपसमूहको सूचक पनि क्रमशः शून्य दशमलव १५, ३७ दशमलव ६२, ३० दशमलव शून्य एक र शून्य दशमलव १९ विन्दुले उकालो लागेका छन् ।
यसदिन ग्लोबल आईएमई समुन्नत योजनाले सबैभन्दा बढी कमाउँदा सिकलेस हाइड्रोपावर कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । युनियन हाइड्रोपावर लिमिटेडको भने सबैभन्दा बढी रकम कारोबार भएको छ ।