नयाँ दिल्ली । प्रेमको प्रतीकका रूपमा विश्वप्रसिद्ध ताजमहल भारतको सबैभन्दा धेरै भ्रमण गरिने पर्यटन गन्तव्य बनेको छ । वित्तीय वर्ष २०२४–२५मा यस स्मारकले ६९ लाख आगन्तुकलाई आकर्षित गरेको संघीय पर्यटन मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो भारत पर्यटन डाटा कम्पेन्डियममा जनाइएको छ । तीमध्ये ६२ लाख ६० हजार घरेलु पर्यटक र करिब छ लाख ४५ विदेशी पर्यटक रहेको मन्त्रालयले जनाएको छ ।
सिन्ह्वाका अनुसार सत्रौँ शताब्दीमा निर्मित यो हात्तीको दाँत जस्तै सेतो सङ्गमर्मरको भव्य समाधि स्थल मुगल सम्राट शाहजहाँले आफ्नी प्रिय पत्नी मुमताज महलको स्मृतिमा निर्माण गरेका थिए । यस भव्य कृतिमा सम्राट शाहजहाँकै समाधि पनि अवस्थित छ । पर्यटन मन्त्रालयका अनुसार ताजमहल एक दशकभन्दा बढी समयदेखि भारतमा सबैभन्दा बढी राजस्व आर्जन गर्ने र सर्वाधिक भ्रमण हुने स्मारक बनेर अग्रस्थान कायम राख्दै आएको छ ।
विश्व सम्पदा सूचीमा दर्जा प्राप्त ताजमहलले आफ्नो ऐतिहासिक, सांस्कृतिक र वास्तुकलात्मक महत्वका कारण प्रत्येक वर्ष लाखौँ आगन्तुकलाई निरन्तर आकर्षित गर्दै आएको छ ।