काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा खुकुलो गरेको छ । यसअघि लगाइएको २५ करोडको एकल ग्राहक कर्जा सीमा पूर्णरुपमा हटाइएको हो । बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०८१ संशोधन गर्दै नयाँ व्यवस्था गरेको हो ।
तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले सेयरधितो कर्जालाई कडाइ गर्दै ४ र १२ करोडको सीमा लगाएका थिए । पछि लगानीकर्ताको तीव्र विरोधपछि त्यसलाई परिमार्जन गर्दै यस्तो कर्जाको सीमा बढाइए पनि एकल ग्राहक कर्जा सीमा २५ करोड राखिएको थियो ।
अर्थ मन्त्रालयले बनाएको पुँजीबजार सुधार कार्यदलको सुझाव मान्दै वर्तमान गभर्नर विश्वनाथ पौडेलले उक्त सीमालाई पनि हटाएर लगानीकर्तालाई सेयरधितो कर्जा लिन अझै सहज बनाइदिएका हुन् । यसको फाइदा सेयर लगानीकर्तालाई पुग्नेछ । यसअघि चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल २५ करोड कायम गरिएको थियो ।
यद्यपि, धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि उक्त सीमा लगाइएको थिएन । नयाँ मौद्रिक नीतिमा राष्ट्र बैंकले यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको एकीन गरेर मात्र कर्जा प्रवाह/नवीकरण गर्नुपर्ने भनेको थियो । अब त्यो पनि गर्नु नपर्ने भएको छ । तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने भनिएकोमा यो व्यवस्था पनि हटेको छ ।
त्यसैगरी, संगठित संस्थाको सेयर, डिवेञ्चर तथा अन्य लगानीसम्बन्धी व्यवस्थामा पनि केही हेरफेर गरिएको छ । यसअनुसार सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा छ महिनाभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने भएको छ ।
बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न पाउनेछैनन् । धितोपत्र विनिमय बजारमा सूचीकृत भइनसकेको संगठित संस्थाको सेयर वा डिवेञ्चरमा लगानी गरेमा त्यस्तो लगानी गरेको मितिले तीन वर्षभित्र उक्त सेयर तथा डिबेञ्चर सूचीकृत नभएको खण्डमा लगानी भएबराबरको रकम सञ्चित मुनाफा खर्च गरी लगानी समायोजन कोषमा जम्मा गर्नुपर्नेछ ।
त्यस्तो कोषमा रहेको रकम उक्त सेयर तथा डिबेञ्चर सूचीकृत नभएसम्म उपयोग गर्न पाइनेछैन । तर, प्रचलित कानुनबमोजिम सूचीकृत हुन नपर्ने संस्थामा इजाजतपत्रप्राप्त संस्थाको ५१ प्रतिशत वा सोभन्दा बढी लगानी रहेको अवस्थामा र कर्जा सूचना केन्द्र लिमिटेड, नेपाल क्लियरिङ हाउस लिमिटेड, नेसनल ब्यांकिङ इन्स्टिच्युट, नेपाल स्टक एक्सचेन्ज तथा पूर्वाधार विकास बैंकको सेयरमा गरेको लगानीमा लगानी समायोजन कोष कायम गर्न अनिवार्य हुनेछैन ।
साथै, नेपालको भुक्तानी प्रणालीको आधुनिकीकरणका लागि पूर्वाधार तयार गर्न मद्दत पुर्याउन बैंक तथा वित्तीय संस्थाको संयुक्त लगानीद्वारा प्रवद्र्धित पेमेन्ट स्विचको कार्य गर्ने कम्पनीमा गरिएको लगानीको हकमा समेत लगानी समायोजन कोष कायम गर्नुपर्नेछैन ।
यसबाहेक खरिद गरेको एक वर्ष बितेका लगानीमध्ये एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था रहेकामा त्यसलाई पनि केन्द्रीय बैंकले हटाइदिएको छ ।
सेयरबजारमा बढ्यो कारोबार रकम
काठमाडौं । सेयरबजार लगातार राताम्मे भएको छ । मंगलबार ५८ दशमलव ५३ अंकले खुम्चिएको नेप्से परिसूचक बुधबार पुनः ४५ दशमलव ३६ अंकले ओरालो लागेको हो ।
योसँगै नेप्से २५ सय ५९ दशमलव ५९ विन्दुमा खुम्चिएको छ । यसदिन तीन सय ३५ वटा सेयर कारोबार भएका थिए । जसमा एक करोड ३७ लाख ४९ हजार पाँच सय पाँच कित्ता सेयर बिक्री भएको हो । यसबाट पाँच अर्ब ७६ करोड २७ लाख एक हजार एक सय १० रुपैंयाँको कारोबार भएको छ । मंगलबार योभन्दा कम रुपैयाँको सेयर कारोबार भएको थियो ।
१३ वटै उपसूचक राताम्य भएको दिन वाणिज्य बैंक २० दशमलव ६१, विकास बैंक एक सय २७ दशमलव ८८, फाइनान्स ७२ दशमलव ७४, जलविद्युत् ७९ दशमलव ३८, जीवन बीमा दुई सय छ दशमलव १६, निर्जीवन बीमा दुई सय २६ दशमलव २२ अंकले ओरालो लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यसैगरी, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार उपसमूहको सूचक पनि क्रमशः एक सय ९१ दशमलव ७६, दुई दशमलव १२, ७७ दशमलव शून्य चार, ९३ दशमलव ६९, शून्य दशमलव १८, २८ दशमलव ७४ र १६ दशमलव ४० अंकले ओरालो लागेका छन् ।
यसदिन सांग्रिला बैंकको ऋणपत्र २०८७ सबैभन्दा बढी कमाउने कम्पनीको सूचीमा पर्दा प्रभु इन्स्योरेन्स कम्पनी सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको छ । नेपाल पुनर्बीमा कम्पनी भने यसदिन सबैभन्दा बढी रकम कारोबार गर्नै कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको छ ।