काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो दुई दिनमा बैंकिङ प्रणालीबाट एक खर्ब १० अर्ब रुपैयाँ खिचेको छ । मंगलबार र बुधबार अल्पकालीन अवधिको मौद्रिक उपकरण बिक्री गरेर उक्त रकम खिचिएको हो ।
मंगलबार १२ दिनको लागि बैंकिङ प्रणालीबाट पुनः ९० अर्ब रुपैयाँ खिचेको राष्ट्र बैंकले बुधबार पुनः २० अर्ब रुपैयाँ खिचेको छ । परिपक्व हुने अवधिमा क्रमशः १२ दिन र ११ दिन तोकिएको यी दुवै उपकरणको सावाँ ब्याज भुक्तानी मिति भने कात्तिक २ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा यो उपकरण बिक्री गरिएको हो ।
खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सीमा तोकिएको थियो । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा धितोको रुपमा समेत राख्ने सकिने व्यवस्था रहेको राष्ट्र बैंकको भनाइ छ ।