गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत सेप्टेम्बरमा १९ हजार तीन सय ८६ विदेशी पर्यटक भित्रिए । जुन गत वर्षको सोही अवधिको तुलानामा तीन हजार सात सय दुईले कम हो । सेप्टेम्बर–अक्टोबर मुख्य पर्यटकीय याम भए पनि यहीबेला पर्यटक आगमन घटेको छ ।
पर्यटकीय याम सुरू हुनै लाग्दा भएको ‘जेन–जी’ प्रदर्शन, प्रतिकूल मौसम आदि कारणले पर्यटक आगमन घटेको हो । सेप्टेम्बरमा एसियाली मुलुकका आठ हजार पाँच सय ४२ र अन्य देशका १० हजार आठ सय ४४ पर्यटक आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रवीन कडरियाले जानकारी दिए । ‘मुख्य पर्यटकीय याम सुरु भइरहेका बेला जेन–जी प्रदर्शनले पनि असर गर्यो, कतिपय विदेशी पर्यटकले यात्रा रद्द गरे’, उनले भने, ‘मुक्तिनाथलगायत क्षेत्रको भ्रमणमा आउने भारतीय पर्यटकको संख्या पनि घटेको छ ।’ अन्नपूर्ण क्षेत्रका सबै गन्तव्यस्थल शान्त र सुरक्षित रहेकाले ढुक्क भएर घुम्न आउन उनले आग्रह गरे ।
नेपालीका ठूला चाडपर्वहरू भएकाले आन्तरिक पर्यटक पनि घुमफिरमा निस्कने उपयुक्त समय यही हो । नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश विश्वमाझ दिएर पर्यटक आगमनलाई नियमित लयमा फर्काउन सरकार र सम्बद्ध सबै पक्ष लाग्नुपर्ने आयोजना प्रमुख डा कडरियाले बताए ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्यस्थल पुनहिल प्रवेश टिकट कक्षका अमृत पुनका अनुसार बुधबार झण्डै दुई सय विदेशी पर्यटकले घोरपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् । दुई/तीन दिनदेखि पर्यटक आगमन केही बढे पनि अघिल्ला वर्षको तुलनामा घटेको उनले बताए । ‘यो याममा दिनमा चार सयसम्म विदेशी पर्यटक आउँथे, अहिले घटे’, पुनले भने, ‘विदेशी पर्यटकसँगै आन्तरिक पर्यटक पनि घटेका छन् ।’ घोरपानीका होटल व्यवसायी डमबहादुर पुनले आफ्नो होटलमा आउन लागेका पर्यटकका २७ वटा समूहले ‘बुकिङ’ रद्द गरेको बताए ।
सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।