काठमाडौं । जेनजी आन्दोलनका प्रतिनिधिसँगको छलफलका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्। शनिबार बिहान शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजीका प्रतिनिधिहरूसँग चलिरहेको छलफलका बीचमा राष्ट्रपति पौडेलको स्वास्थ्य अचानक बिग्रिएको थियो। राष्ट्रपतिलाई तत्क्षणै महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर (MCVTC) मा लगिएको र हाल उहाँको स्वास्थ्य परीक्षण भइरहेको अस्पताल स्रोतले जनाएको छ। राष्ट्रपतिको सचिवालयका अनुसार अब जेनजी प्रतिनिधिसँगको छलफल आगामी सोमबार दिउँसो ३ बजे पुनः आयोजना गरिनेछ। यसअघि सुदन गुरुङ नेतृत्वको टोली शीतल निवास प्रवेश गरेपछि बाहिर असन्तुष्ट जेनजी युवाहरूले नाराबाजी गरेका कारण पनि आजको वार्ता अघि बढ्न सकेको थिएन।