काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति भंग गरी कार्यवाहक सभापति तोक्ने सुझाव दिएका छन्।शनिबार सानेपास्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा सहभागी भएका कोइरालाले अहिलेको परिस्थितिमा विशेष महाधिवेशन होइन, नियमित महाधिवेशनमार्फत नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका हुन्। उनले भने, “शेरबहादुरजीलाई मैले भनेँ — यो समिति विघटन गर्नुस्, एक जनालाई कार्यवाहक सभापति तोक्नुस्। उनले नयाँ समिति गठन गर्नेछन् र महाधिवेशनको मिति तय गर्नेछन्।” डा. कोइरालाले मुलुकको राजनीतिक समस्याको समाधान चुनावमै रहेको स्पष्ट गर्दै लोकतान्त्रिक दलका रूपमा कांग्रेसले चुनावबाट नभाग्नुपर्ने बताए।उनका अनुसार, “चुनावमा त जानुपर्छ, लोकतान्त्रिक पार्टी भएकाले भाग नलिने भन्ने हुँदैन। त्यसैले अरू दलहरूसँग मिलेर बाटो निकाल्नुपर्छ।” उनले संसद् पुनःस्थापनाको विषय कानुनी भए पनि राजनीतिक स्थायित्व र शान्तिका लागि निष्पक्ष र धाँधलीरहित निर्वाचन आवश्यक रहेको बताएका छन्।