काठमाडौं । मोरङ उद्योग व्यापार संघले निर्यात अनुदान प्रक्रियालाई स्थगित गर्ने उद्योग विभागको हालैको निर्णयले निर्यात प्रवर्द्धनको प्रयासमा गम्भीर धक्का पुर्याउने जनाएको छ ।
संघले विभागको उक्त निर्णयको कडा आपत्ति जनाउँदै फिर्ता लिन माग गरेको छ । संघका अध्यक्ष अनुपम राठीले विज्ञप्ति जारी गरी असोज २३ मा उद्योग विभागले प्रकाशित गरेको सूचनाअनुसार आर्थिक वर्ष २०८१÷८२ मा निर्यात गरिसकेका निर्यातकर्ताले बुझाएको निर्यात अनुदानसम्बन्धी आवेदन यस वर्ष प्रक्रिया नगर्ने उल्लेख गरिएको प्रति संघ ‘आश्चर्यचकित र ‘चिन्तित’ भएको जनाएका छन् । ‘भू–परिवेष्ठित मुलुकका निर्यातकर्ताहरूले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न चुनौतीको सामना गर्दै आएको यथार्थलाई सरकारले बेवास्ता गरेको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक मन्दी, राजनीतिक संक्रमण र असहज व्यापारिक वातावरणका बाबजुद पनि निर्यातलाई निरन्तरता दिँदै आएका व्यवसायीहरूको मनोबलमा यस निर्णयले दीर्घकालीन नकारात्मक असर पार्नेछ ।’
संघले विभागको उक्त निर्णय पुनर्विचार गर्न आग्रह गर्दै स्वघोषणासहितको अनुसूची–३ बमोजिम आवेदन दिने समय सीमा थप गर्न माग गरेको छ । साथै, संघले सरकारलाई बक्यौता देखिएको निर्यात अनुदान रकम बराबरको ‘बन्ड’ जारी गर्न पनि अनुरोध गरेको छ । यसले गर्दा आर्थिक स्थायित्व कायम राख्दै निर्यातकर्ता व्यवसायीहरूको हकहित संरक्षण गर्न सकिने संघले जनाएको छ । ‘सरकारका नीति तथा योजनामाथि विश्वास कायम राख्नका लागि यो निर्णय तत्काल फिर्ता लिनु आवश्यक छ । निर्यात प्रवद्र्धनका लागि जिम्मेवार व्यवहार देखाउनु आजको आवश्यकता हो’, संघका अध्यक्ष राठीले भने । नेपालको निर्यात वृद्धि र वैदेशिक मुद्रा आर्जनका लागि सरकारद्वारा अपनाइएको निर्यात अनुदान कार्यक्रम केही वर्षदेखि कार्यान्वयनमा रहँदै आएको छ । तर चालू वर्षमा विभागले उक्त अनुदान प्रक्रिया रोक्ने निर्णय गरेको छ ।