ब्रसेल्स । युरोपका जङ्गली परागणकर्ताहरूको अस्तित्व गम्भीर जोखिममा परेको प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयुसिएन) ले चेतावनी दिएको छ । उक्त सङ्घले शनिबार सार्वजनिक गरेको प्रतिवेदनमा दर्जनौँ मौरी र पुतलीका प्रजातिहरू खतराको सूचीमा पुगेको बताइएको छ ।
एएफपीका अनुसार युरोपका लगभग सबै फूल फुल्ने बोटबिरुवाहरू जङ्गली परागणकर्ताहरू, विशेषगरी मौरीहरूमा निर्भर छन् । तर बासस्थानको क्षति, कीटनाशकको अत्यधिक प्रयोग र जलवायु परिवर्तनका कारण यी महत्त्वपूर्ण प्रजातिहरू लोप हुने संकटमा पुगेका हुन् ।
प्राकृतिक विश्वको अवस्थाबारे अहिलेसम्मको सबैभन्दा व्यापक मूल्यांकनका क्रममा आइयुसिएनले करिब एक सयवटा नयाँ मौरी प्रजातिलाई पनि खतरामा परेको सूचीमा समावेश गरेको छ । सन् २०१४ मा ७७ मौरी प्रजातिहरू जोखिममा थिए भने हाल एक हजार ९२८ प्रजातिमध्ये कम्तीमा १७२ जङ्गली मौरीहरू लोप हुने खतरा रहेको जनाइएको छ ।
‘जङ्गली मौरीहरूको संख्या तीव्ररूपमा घटिरहेको छ र तिनलाई व्यवस्थापित मौरी उपनिवेशहरूले सजिलै प्रतिस्थापन गर्न सक्दैनन्’, युनिभर्सिटी अफ मोन्सका अनुसन्धानकर्ता डेनिस मिचेजले भने, ‘यदि जङ्गली मौरीहरू हराए भने, धेरै जङ्गली बोटबिरुवाहरू पनि नष्ट हुनेछन्— जसमा सुन्दर फूलहरूले भरिएका घाँसेमैदान र दुर्लभ अर्किड प्रजातिहरू पनि समावेश छन् ।’
मूल्यांकनले पछिल्लो दशकमा खतरामा परेका युरोपेली पुतली प्रजातिहरूको संख्या ७६ प्रतिशतले बढेको पनि देखाएको छ । युरोपका लागि अद्वितीय मानिएका पुतली प्रजातिहरूको ४० प्रतिशतभन्दा बढी अहिले खतरामा परेको वा नजिक पुगेको सूचीमा छन् । पोर्चुगलको मडेइरा टापुमा मात्र पाइने मडेइरान ठूलो सेतो पुतली अब विलुप्त भएको आधिकारिक रूपमा पुष्टि गरिएको छ ।
आइयुसिएनका महानिर्देशक ग्रेथेल एगुइलरले भने, ‘मौरी र पुतलीहरू केवल सौन्दर्यका प्रतीक मात्र होइनन्, तिनीहरू हाम्रो स्वास्थ्य, खाद्य प्रणाली र अर्थतन्त्रका लागि जीवनरेखा हुन् । ती नै हाम्रो फलफूल, तरकारी र बिउको उत्पादन कायम राख्ने मुख्य आधार हुन् ।’ हाल युरोपका ९० प्रतिशतसम्म फूल फुल्ने बोटबिरुवाहरू कीट परागणमा निर्भर छन्, जसमा पाँचमध्ये चारवटा बाली र जङ्गली फूलका प्रजातिहरू समावेश छन् । आवासको क्षतिले जङ्गली मौरी र पुतलीहरूको अस्तित्वमा सबैभन्दा ठूलो खतरा पुर्याइरहेको आइयुसिएनले जनाएको छ ।