काठमाडौं ।कानुन विपरीत दोहोरो पदमा बसेका नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का सञ्चालक तथा किसान कल्याण बचत तथा ऋण सहकारी संस्था अध्यक्ष शालिकराम ढकाल पुनः विवादमा तानिएका छन्। सहकारी ऐन २०७४ को दफा ४१ को उपदफा ५ अनुसार कुनै पनि व्यक्ति एकै समयमा एकभन्दा बढी सहकारी संस्था सञ्चालक वा कार्यकारी पदमा रहन पाउँदैन। तर, ढकाल लामो समयदेखि नेफ्स्कुन सञ्चालक र किसान कल्याण सहकारीका अध्यक्ष दुवै पदमा कार्यरत छन्। सहकारी विभागले पटक–पटक सचेत गराउँदा पनि ढकालले निर्देशनको अटेर गर्दै २५ असोजमा आफ्नै अध्यक्षतामा किसान कल्याण सहकारीको २४औं वार्षिक साधारणसभा सञ्चालन गरेका हुन्। विरोध गर्न आएका सदस्यहरूलाई उनले हल बाहिर निकालेर सभा अघि बढाएको आरोप लागेको छ। सहकारी विभागले १९ असार २०८१ मा जारी निर्देशनमा “एक व्यक्ति एक सहकारी” नीति स्पष्ट रूपमा लागू गर्न सबै संस्थालाई ३० दिनभित्र विकल्प रोज्न आदेश दिएको थियो। तर, ढकालले कुनै पद पनि नछाडेको सदस्यहरूको दाबी छ। प्रदेश सहकारी रजिस्ट्रार कार्यालय कोशीले समेत ढकाललाई पद त्याग्न निर्देशन दिएको थियो। कानुनी रूपमा २०८१ पुस मसान्तपछि उनको पद स्वतः निष्क्रिय हुने व्यवस्था भए पनि उनले अझै दुवै पद सम्हालिरहेका छन्। अडिट रिपोर्टसमेत किर्ते गरेको आरोप ढकालमाथि अघिल्लो आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण प्रतिवेदन (अडिट रिपोर्ट) किर्ते गरेको गम्भीर आरोप पनि छ। साह अरुण एन्ड एसोसिएट्सले दिएको अडिट प्रतिवेदनमा देखिएका अनियमितता, कर्जा नोक्सानी र नियमविपरीत ऋण लगानीबारेका टिप्पणीहरू ढाकछोप गर्न उनले ‘फोटोसप’ गरेर प्रतिवेदनका पृष्ठहरू नै हेरफेर गरी साधारणसभामा प्रस्तुत गरेका थिए। लेखा परीक्षकले सहकारीमा ३ करोड २५ लाखभन्दा बढी भाखा नाघेको कर्जा र ४ करोड ५० लाखभन्दा बढी नोक्सानी व्यवस्था कम गरिएको उल्लेख गरेका थिए। तर, ती भाग हटाएर ढकालले ‘सकारात्मक टिप्पणी’ मात्र राखेर प्रतिवेदन प्रकाशन गरेका हुन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) का काउन्सिल सदस्य सीए उमेशराज पाण्डेयका अनुसार यस्तो कार्य प्रत्यक्ष किर्तेअन्तर्गत पर्दछ र सहकारी ऐन २०७४ को दफा १२२ र १२४ बमोजिम १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।