काठमाडौं । अन्ततः हिमालयन बैंकबाट पाकिस्तानको हबिब बैंक बाहिरिने भएको छ । नेपाल राष्ट्र बैंकले नेसनल लाइफ इन्स्योरेन्स कम्पनीलाई हिमालयन बैंकमा कायम रहेको उसको सेयर बिक्रीको अनुमति दिएसँगै हबिब बाहिरिने निश्चित भएको हो ।
हिमालयनमा हबिब प्रमुख विदेशी साझेदार थियो । हविब बैंकको हिमालयनमा रहेको सबै सेयर बिक्रीलाई केन्द्रीय बैंकले आइतबार स्वीकृति दिएको हो । हिमालयन बैंकले २०८२ जेठ ३० गते सार्वजनिक सूचना जारी गर्दै हबिब बैंकको सेयर खरिदको लागि आह्वान गरेको थियो ।
हबिबसँग रहेको दुई करोड ८० लाख १२ हजार चार सय ४७ कित्ता संस्थापक सेयर बिक्री गर्नका लागि बैकले ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । उक्त सूचनामा हिमालयन बैंकले हबिब बैंकको दुई करोड ८० लाख १२ हजार चार सय ४७ दशमलव ४५ कित्ता संस्थापक सेयर न्यूनतम प्रतिकित्ता एक सय १२ रुपैयाँ ८० पैसामा खरिद गर्नुपर्ने प्रस्ताव राखेको थियो । सोही प्रस्तावअनुसार बिचौलिया दिपक भट्टको हिमालयन बैंक कब्जा गर्ने रणनीतिअनुसार उनको प्रमुख सेयर लगानी रहेको हिमालयन रि–इन्स्योरेन्सले हबिब बैंकको हिमालयन बैंकमा रहेको सबै संस्थापक सेयर खरिद गर्ने प्रक्रिया अगाडि बढाएको थियो ।
तर यही बीचमा अन्तिम समयमा आएर हिमालयन बैंकको संस्थापक सेयरधनीमध्येको एक नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हिमालयन बैंकको नाममा कायम रहेको दुई करोड ८० लाख १२ हजार चार सय ४७ दशमलव ४५ कित्ता संस्थापक सेयर न्यूनतम प्रतिकित्ता एक सय १८ रुपैयाँ ८० पैसामा खरिद गर्ने प्रस्ताव हबिब बैंकलाई पठाएको थियो । हबिब बैंकको सञ्चालक समितिले पनि नेसनल लागि सेयर खरिदको आकर्षक उक्त प्रस्तावलाई स्वीकार गर्दै यसअघि हिमालयन रि–इन्स्योरेन्ससँगको सेयर खरिद बिक्री प्रक्रिया तत्कालका लागि स्थगन गरी नेसनल लाइफलाई सेयर बिक्री गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयको व्यहोराको पत्र हबिब बैंकले नेपाल राष्ट्र बैंकलाई पठाएको थियो । नेपाल राष्ट्र बैंकले पनि उक्त सेयर बिक्रीको लागि अनुमति दिने विषयमा सरोकारवाला निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडसँग समेत आवश्यक सल्लाह सुझाव लिएर नेसनल लाइफलाई उक्त सेयर खरिदको लागि अनुमति दिएको हो ।
राष्ट्र बैंक उच्च स्रोतका अनुसार हिमालयन बैंकमा रहेको हबिबको सेयर किन्न नेसनल लाइफलाई राष्ट्र बैंकले आइतबार (असोज २६ गते) अनुमति दिएको हो । राष्ट्र बैंकबाट पाएको उक्त अनुमतिअनुसार अब नेसनल लाइफले हिमालयन बैंकमा कायम रहेको पाकिस्तानको हबिब बैंकको प्रतिकित्ता एक सय १८ रुपैयाँ ८० पैसाको दरले दुई करोड ८० लाख १२ हजार चार सय ४७ दशमलव ४५ कित्ता सेयर खरिद गर्नेछ । यसका लागि नेसनल लाइफले हबिब बैंकलाई नेपाली रुपैयाँ तीन अर्ब ३२ करोड ७८ लाख ७८ हजार सात ५७ रुपैयाँ तिनुपर्नेछ ।
उक्त रकम तिरेपछि हिमालयन बैंकमा नेसनल लाइफको पाकिस्तानको हबिब बैंकको नाममा कायम रहेको १२ दशमलव ९३ प्रतिशत संस्थापक सेयर थप हुनेछ भने हबिब बैंक हिमालयन बैकबाट पूर्णरुपमा बाहिरिने छ । सेयर बिक्रीको अनुमतिको विषयमा नेपाल राष्ट्र बैंकका प्रवक्ता एवम् कार्यकारी निर्देशक किरण पण्डितले पनि नेसनल लाइफलाई सेयर बिक्रीको लागि अनुमति दिएको जानकारी दिए ।
‘हिमालयन बैंकको नाममा कायम रहेको हबिब बैंकको सेयर बिक्रीको लागि नेसनल लाइफ इन्स्योरेन्सलाई हामीले आइतबार स्वीकृति दिएका हौँ,’ प्रवक्ता पण्डितले भने । सोही विषयमा जानकारी लिन हिमायलयन बैंकमा प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर जबरालाई सम्पर्क गर्दा उनको फोन उठेन । सोपश्चात् बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी सुनिल प्रसाद गोर्खालीसँग सम्पर्क गर्दा सीईओको स्वास्थ्य अवस्था राम्रो नभएकाले फोन सम्पर्क हुन नसकेको बताए ।
‘नेपाल राष्ट्र बैंकले हिमालयन बैंकमा कायम रहेको पाकिस्तानको हबिब बैंकको सेयर खरिद गर्नको लागि नेसनल लाइफ इन्स्योरेन्स कम्पनीलाई अनुमति दिएको भन्ने छ, यो कुरा साँचो हो, यो कुरा हामीले पनि केही समयअघि मात्र जानकारी पाएका हौँ’, सूचना अधिकारी गोर्खालीले आर्थिक दैनिकसँग भने ।