काठमाडौँ । वर्षायाममा मेलम्ची नदीमा आउने बाढी र पहिरोका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौँ ल्याइएको छ । बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै गत वर्षको असार १० गते बन्द गरिएको पानी मर्मतपश्चात काठमाडौँ ल्याइएको हो ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले वर्षातले क्षति गरेको केही ठाउँमा मर्मतपश्चात अहिले पानी सङ्कलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेको जानकारी दिए ।
उनले भन, “वेर्षातले क्षति गरेको ठाउँमा मर्मत गरी र पानीको बहाब कम भएसँगै अहिले हामीले मेलम्चीको पानी काठमाडौँ ल्याउन सफल भएका छौँ । सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेको छ ।”
मेलम्ची खानेपानी बन्द गरिएको बेला विभिन्न स्रोतबाट दैनिक १३ देखि १४ करोड लिटर पानी मात्रै उपत्यकामा आपूर्ति हुने गरेको थियो । काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलले दैनिक १७ करोड लिटरभन्दा बढी मेलम्चीको खानेपानी सुन्दरीजलमा पुगेसँगै काठमाडौँ उपत्यकामा उक्त पानी वितरण गर्न सुरु गरिएको बताए
उनले भन, “मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइपुगेसँगै हामीले पानी वितरण प्रक्रिया सुरु गरेका छौँ । विगतमा ६ दिनमा एक दिन मात्रै धारामा आउने पानी आजबाट अब तीनरतीन दिनको फरकमा प्रत्येक घरका धारामा पानी आउँछ ।”
२०७८ साल असार १ गते मेलम्ची खोलामा आएको बाढीपहिरोले आयोजनाको हेडवक्र्स पूर्णरूपले क्षतिग्रस्त भएपछि त्यसयता हिउँदमा मात्र मेलम्चीको पानी उपत्यकामा वितरण हुँदै आएको छ । बाढीका कारण मेलम्चीको मुहान बन्द गरिएपछि रिबर्मा खोलाबाट दैनिक रुपमा छ देखि सात करोड लिटर पानी स्थान्तरण गरेर काठमाडौँमा वितरण भइरहेको कार्यकारी निर्देशक दासले बताए ।
उनका अनुसार २०७८ साल चैत १५ गते पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर काठमाडौँ उपत्यकामा पानी वितरण थालिएको हो । सोही वर्षको असार र साउनमा मेलम्ची तथा इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्याएपछि काठमाडौँमा हालसम्म बाह्रैमहिना पानी ल्याउन सकिएको छैन ।