काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको समयमा बिक्रीवितरण हुने सामानमा अधिकतम खुद्रा बिक्री मूल्य राख्न सम्बद्ध सबैमा ध्यानाकर्षण गराएको छ ।
नियमित बजार अनुगमनका क्रममा विशेषगरी तिहारको अवसरमा प्रयोग गरिने भाइमसला, तामा/चाँदीका भाँडा तथा झिलिमिली बनाउन प्रयोग हुने विद्युतीय सामग्रीलगायत अन्य विभिन्न वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्यसहितको लेबल र मूल्य सूची नराखेको पाइएको विभागले जनाएको छ । विभागले बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गरी मूल्य स्थिरता कायम गर्न प्रयासरत रहेको उल्लेख गरेको छ । त्यसका लागि व्यापारिक सङ्घ, सङ्गठन र व्यवसायीका साथै उपभोक्तावादी सङ्घ, सङ्गठन र उपभोक्ताको उत्तिकै महत्वपूर्ण योगदान रहने विभागको भनाइ छ ।