काठमाडौं । जेन–जी आन्दोलनका घटनापछि करिब एक महिनापछि नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सार्वजनिक भएका छन्। असोज २८ गते सानेपास्थित पार्टी कार्यालयमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक भनेका छन्। देउवाले देश गम्भीर राजनीतिक र सामाजिक संकटबाट गुज्रिरहेको भन्दै पार्टीभित्र एकता, संयमता र जिम्मेवार राजनीतिक दृष्टिकोण आवश्यक रहेको बताए। उनका अनुसार भदौ २३ र २४ गतेका घटनाले मुलुकलाई ठूलो क्षति पुर्‍याएको छ। “हामी आज तोडफोड, लुटपाट र आगजनीपछि खरानी बनेको कार्यालयमा बैठक गरिरहेका छौं, यो दृश्यले हामी सबैलाई स्तब्ध बनाएको छ,” उनले भने। देउवाले जेन–जी आन्दोलनका क्रममा भएको हिंसा र तोडफोडलाई सुनियोजित आक्रमणको संज्ञा दिंदै घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरे। उनका अनुसार कांग्रेसका ४८ जिल्ला कार्यालय र करिब १२५ जना नेताहरूका निजी घर तथा कार्यालयमा आक्रमण गरिएको थियो। “गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र कोइराला परिवारको ऐतिहासिक निवाससमेत जलाइएका छन्, यस्तो घटनाले लोकतन्त्रको मर्ममाथि प्रहार गरेको छ,” उनले भने। सभापति देउवाले जेन–जी आन्दोलनका जायज मागहरूप्रति समर्थन जनाउँदै देशमा सुशासन, पारदर्शिता र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्नेमा जोड दिए। उनले भने, “युवाहरूको आवाज सुन्नु हाम्रो कर्तव्य हो, तर हिंसात्मक बाटोबाट देशलाई अस्थिर बनाउन खोज्ने तत्वमाथि कडा कारबाही हुनुपर्छ।” पार्टीभित्रका मतभेदलाई थाती राखेर एकताबद्ध हुन सबैलाई आग्रह गर्दै देउवाले आगामी महाधिवेशनपछि नेतृत्व हस्तान्तरण गर्ने स्पष्ट संकेत पनि दिए। “मैले पहिले नै भनेको छु—पार्टीमा सधैं एउटै सभापति रहँदैन, १५औं महाधिवेशनबाट म सभापति पद हस्तान्तरण गर्छु,” उनले भने। पूर्व प्रधानमन्त्री देउवाले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित हुनुपर्नेमा जोड दिँदै सरकारको पहिलो जिम्मेवारी शान्ति र सुरक्षाको सुनिश्चितता गर्नु रहेको बताए। “लोकतान्त्रिक दलहरूसँग संवाद र सहकार्यका माध्यमबाट मात्र देशलाई संवैधानिक बाटोमा फर्काउन सकिन्छ,” उनले भने। देउवाले आफ्ना शासनकालका उपलब्धिहरू स्मरण गर्दै कमैया मुक्त घोषणा, छुवाछूत उन्मूलन, महिलाको सम्पत्तिमा अधिकार, भूमिसुधार र दलित–जनजाति उत्थानजस्ता कार्यहरू आफ्नो कार्यकालका ऐतिहासिक उपलब्धि भएको बताए। “पाँच पटक प्रधानमन्त्री बन्ने अवसर पाएँ, तर मेरो उद्देश्य पद होइन, राष्ट्र र लोकतन्त्र नै हो,” देउवाले भने।