काठमाडौं । नेपाल बीमा प्राधिकरणले बुधबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमकका प्रतिनिधिहरूसँग कृषि, पशुपन्छी तथा जडीबुटी बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कृषि, पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ लाई सामयसापेक्ष परिमार्जन गर्ने सम्बन्धमा र प्राधिकरणले पहिलो पटक व्यवस्था गर्न लागेको क्षति मूल्याङ्कनकर्तासम्बन्धी निर्देशिकाको मस्यौदाका सम्बन्धमा बीमकका राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्राधिकरणले जानकारी दिएको छ ।
कार्यक्रममा प्राधिकरणबाट प्रस्तुत कृषि, पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका, २०७९को संशोधन मस्यौदा र क्षति मूल्याङ्कनकर्तासम्बन्धी निर्देशिकाको मस्यौदामाथि विस्तृत छलफल भएको थियो । यसैगरी, नेपाल सरकारबाट प्रदान हुने अनुदानका लागि सिफारिससम्बन्धी व्यवस्था र कृषि बीमा रियल टाइम सफ्टवेयर (एएलआईएस)को सञ्चालनको विद्यमान अवस्था, आइपरेका समस्या र समाधानका लागि चाल्नुपर्ने कदमका सम्बन्धमा बीमकका प्रतिनिधिहरूबाट सुझावहरू लिइएको थियो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले प्राधिकरणले कृषि, पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ लाई सामयसापेक्ष परिमार्जन गर्न लागेकाले त्यसका लागि वास्तविक रायसुझावहरू दिन आग्रह गरे । कार्यकारी निर्देशक सुवेदीले प्राधिकरणले पहिलो पटक क्षति मूल्याङ्कनकर्तासम्बन्धी निर्देशिका ल्याउन लागेको जानकारी दिंदै त्यसका लागि समेत ठोस रायसुझावहरू दिन आग्रह गरे ।
साथै, उनले बीमकहरूबाट प्राप्त रायसुझावहरूलाई समेत समेटेर निर्देशिकाका मस्यौदाहरूलाई अन्तिम रूप दिने जानकारी दिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकहरू तथा प्राधिकरणको कृषि बीमा शाखाका कर्मचारीहरू र निर्जीवन बीमा कम्पनीहरूका कृषि विभागका प्रमुखहरूको सहभागिता थियो ।