काठमाडौं । काठमाडौंं हरर चलचित्र महोत्सब हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा कात्तिक १४ देखि १६ गतेसम्म रूसी घर, काठमाडौंमा महोत्सव आयोजना हुने भएको हो ।
आयोजकका अनुसार नेपालमा पहिलोपटक हरर चलचित्र महोत्सव आयोजना गर्न लागिएको छ । यसले लोककथा, मिथक तथा विभिन्न हरर र रहस्यका विषयवस्तुमा आधारित चलचित्रहरू प्रदर्शन गर्नेछ । विश्वभरका विभिन्न देशहरूबाट प्राप्त एक सयभन्दा बढी चलचित्रहरूमध्ये १५ देशका २५ चलचित्रहरू छनोट भएका छन् । चलचित्रहरूको खुला आह्वान फिल्मफ्रिवे प्लेटफर्ममार्फत विश्वव्यापीरूपमा गरिएको थियो । प्राप्त फिल्महरूलाई गुणस्तर, विविधता र पारदर्शिताका आधारमा छनोट समिति द्वारा सावधानीपूर्वक मूल्याङ्कन गरिएको हो ।
यस महोत्सवमा उत्कृष्ट फिचर चलचित्र, उत्कृष्ट लघु चलचित्र र उत्कृष्ट युवा चलचित्र गरी तीनवटा विधामा पुरस्कार प्रदान गरिनेछ । महोत्सवको उद्देश्य नेपालमा हरर शैलीका चलचित्रहरूको निर्माण र विकासलाई प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएको छ । नेपाली चलचित्र क्षेत्रमा हरर शैलीका फिल्महरू निकै कम निर्माण हुने भएकाले दर्शकहरू नयाँपनको खोजीमा छन् । काठमाडौं हरर चलचित्र महोत्सवले यस खालको फिल्म संस्कृतिलाई समृद्ध बनाउने जनाइएको छ ।