जेन–जी आन्दोलनको महिना दिन पुग्दानपुग्दै त्यसको नेतृत्वकर्ता भनेर आफूलाई परिचय गराउने यो समूहका केहीमा सत्ताको अति भोक प्रकट हुन थालेको छ । त्यसैकारण यो समूहका नेता हौँ भन्नेहरू नै आफैँलाई सरकार ठानेर राज्यका निकायहरुमा हस्तक्षेप गर्न थालेका घटनाहरु धमाधम प्रकट भइरहेका छन् । यस्तो काम ‘कथित’ सुशासनका नाममा भइरहेको देखिन थालेको छ ।
जेन–जी आन्दोलनको नेतृत्वकर्ता भनेर चिनाइएकाहरुबाटै यतिबेला देशमा समानान्तर सरकार चलाइएको जस्तो महसुस हुन्छ । यस्तो गतिविधिकोे नामचाहिँ सुशासनका लागि भनिएको छ, तर कामचाहिँ शासनको अतिभोकजस्तो देखिँदैछ ।
त्यसमाथि आपराधिक पृष्ठभूमि रहेकाहरुले सरकारी कार्यालयमा गरिरहेका निरीक्षण र दिइरहेका निर्देशन तथा धम्कीहरुले त गम्भीर प्रश्न खडा गर्न थालेका छन्, जसलाई असली जेन–जीहरुले नै नियन्त्रण गर्नुपर्ने देखिन्छ वा वास्तविक सरकार अति सचेत हुन आवश्यक छ । नत्र प्रशासनिक तहमा अराजकताले सीमा नाघ्नेछ ।
अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबाट चलिरहेको छ । यस सरकारका मन्त्रीहरु पनि छन् । तर यही सरकारका सरकारी कार्यालय प्रमुखलाई निर्देशन दिने धम्क्याउने र राजीनामासम्म माग्ने काम भने ‘जेन–जी’का अगुवाहरु हौँ भन्नेबाट भइरहेको छ । यता जेन–जीका नाममा सरकारी कार्यालय प्रमुखलाई धम्क्याउँदै हिँडिरहेको समूहको नेतृत्व गरिरहेका एक जेन–जी नेता भने आफैँ यसअघि ठगी धन्दामा संलग्न रहेको देखिन आएको छ ।
उनको प्रहरीमा रहेको एउटा अभिलेख अर्थात् रेकर्डले आफूलाई शासक नै ठान्ने यो समूह आफैँचाहिँ कस्तो रहेछ भन्ने देखाउँछ । गएको भदौमा भएको ‘जेन–जी’को प्रदर्शनभन्दा केही समयअगाडि मात्र यहाँ चर्चागरिएका पात्र प्रहरीको हिरासतबाट मुक्त भएका थिए । गत वैशाख ३० गते प्रहरी वृत्त महाराजगञ्जले यी पात्रलगायतलाई उपस्थित गराउन वैदेशिक रोजगार विभागलाई पत्र काटेको थियो । त्यसमा विभागबाट छुटी जाने अवस्था देखिएमा वृत्तमा उपस्थित गराउन भनिएको थियो । गएको वैशाख २८ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालयले पक्राउ गरेको थियो । पक्राउको पृष्ठभूमिको पत्रमा भनिएको छ –
‘उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय जावलाखेल ललितपुर पत्रद्वारा तालुक कार्यालयमा वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि दाखिला गरेको हुँदा प्रतिवादी अर्जुनबहादुर शाही तालुक कार्यालयमा दर्ता भएको मुद्दाको अनुसन्धानपश्चात् छुटी जाने भएमा यस कार्यालयमा श्रीकृष्ण फुँयालले दर्ता गराएको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका लागि अर्जुनबहादुर शाहीलाई यस कार्यालयमा दाखिला गरी दिने व्यवस्था गरिदिन हुन सादर अनुरोध गरिएको छ ।’
यिनै शाही ‘जेन–जी’ आन्दोलनपछि पूर्व–प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने भएपछि शीतलनिवास पुगेका थिए । ‘जेन–जी’ अगुवा सुदन गुरुङको छेउमा बसेका उनीहरूले एक–अर्काको हात समाउँदै उठाएका थिए । यस्ता तस्वीरहरु उनीहरुले नै सामाजिक सञ्जालमा पोष्ट गराउँदै आइरहेका छन् ।
यही समूहमध्येको शाहीसहितको एउटा टोली उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई थर्काउँदै राजीनामा मागेको भिडियो सामाजिक सञ्जालमा व्याप्त छ । प्राधिकरण मात्र होइन अरु कार्यालयमा पनि यस्तै गतिविधि तीव्र पारिएका छन् । यही टोली यसैदिन अख्तियार पुगेर भन्नेबित्तिकै आयोग प्रमुखले भेट नदिएको भन्दै तथानाम गाली गरेर फर्किएको थियो ।
उनीहरुले नै आफ्नो सामाजिक सञ्जालमा राखेका र व्यापक भएका विवरणअनुसार उनीहरुले कर्मचारीलाई घरबाटै थुत्नेदेखि राजीनामा दिन निर्देशनसम्म दिने गरेका देखिन्छ । यस्तो त यही सरकारका मन्त्रीहरुले समेत गरेका छैनन् ।
यसका थुप्रै उदाहरण प्रकट भइसकेका छन् । त्यसको एउटा उदाहरण हो नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा गएर प्राधिकरणका महानिर्देशकको राजीनामा नै मागिएको कुरा । संवादमा सुनिएअनुसार शाहीले विनातथ्याङ्क संस्था किन निरन्तर घाटामा गइरहेको छ ? भन्ने प्रश्न गर्छन् । महानिर्देशकले क्यान कहाँ घाटामा गएको छ भन्दै प्रतिप्रश्न गरेको देखिन्छ ।
त्यसपछि अर्को प्रश्न सोधिन्छ –प्राइभेटहरूलाई मात्रै फोकस गर्ने नेपाल वायु सेवा निगम किन घाटामा, किन सरकारी जहाज छैनन् ? महाप्रबन्धकको जवाफ हुन्छ –जहाज किन्ने आफ्नो क्षेत्राधिकारभित्रको कुरा होइन । त्यस्तै, अर्को धम्कीपूर्ण प्रश्न आउँछ –संसदीय छानबिन समितिले १५ अर्ब घोटाला गरेको भनेर किटान गर्दा पनि एक्लै च्यालेन्ज गरेर पदमा बसिरहने ?
उत्तर हुन्छ – प्रमाण ल्याओस् म सजाय भोग्न तयार छु । अर्को निर्देशन हुन्छ –‘ठाउँ खाली गर्नुस्, काम गर्न अर्को आउँछ ।’
महानिर्देशक भन्छन् –सरकारले हटाओस् न त । यी जेन–जी अगुवाको अर्को निर्देशन आउँछ– स्वेच्छिक राजीनामा दिनुस्, काम गर्न नसक्ने मान्छे किन बस्ने ?
त्यसपछि यही टोली नेपाल वायु सेवा निगमका अध्यक्षलाई धम्क्याउन पुग्छ । वायु सेवा निगमको कार्यालय पुगेर उनीहरुले कार्यालयका प्रमुखहरूलाई यहाँ बोलाउनुस् भन्दै आदेश दिन्छन् । ‘यो सबै नाटक हो, बोलाउनुस्, नत्र थुतेर ल्याउँछु घरबाट ।’
यसैदिन यही टोली अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेको देखाइन्छ । त्यहाँ उनीहरूले प्रमुख आयुक्तसँग तुरुन्तै भेट्ने समय मिलाउन भने । कर्मचारीले समय मिलेपछि भेट गराउने भनेपछि टोली नेता जंगिए –‘सोझो हिसाबले कर्मचारीतन्त्रलाई नगाल्ने रैछ । हामीले जनतालाई के म्यासेज दिने, भित्र भेट्न दिएन भन्ने ? टाइमको कुरै नगर्नुस् । हामी विथआउट टाइमिङ आएको हो । मन्त्रालयमा हरेक ठाउँमा विथआउट टाइमिङ गइरहेका छौँ । संवैधानिक आयोगका १२ वटा निकायमा हामी पुगिसकेका छौँ । अख्तियारमा मात्र किन भेट्न नमिल्ने ? उजुरीको कुरै छैन, यस्ता त कति हुन्छन्, कति हुन्छन् ।’
यसअघि जेन–जीकै यीभन्दा ठूला नेता भनिएका र प्रधानमन्त्री कार्कीभन्दा बढी चर्चामा आइरहेका सुधन गुरुङको समानान्तर सरकारको अभ्यास पनि सामान्य छैन । उनका पछिल्ला गतिविधिले नै यस्तो अभ्यास चरमरुपमा पुगेको भन्ने जानकारी गराउँछ ।
यी पनि उनैले आफ्नो सामाजिक सञ्जालमा हालेका सामग्रीले बताइरहेका विवरण हुन् । उनी आफैँले सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती रहेको भिडिओले जे बताइरहेका छन् त्यो वास्तवमा सरकारमा रहेकाहरुले हेरेका छन् कि छैनन् भन्ने प्रश्न उठ्छ ।
उनले आफ्नो सञ्जालमा केहीअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा प्राधिकरणका कर्मचारीसहित सुरक्षा अधिकारीलाई जस्तो निर्देशन दिइरहेका देखिन्छन् र प्रमुख कार्यकारी अधिकृतसहित प्राधिकरणका कर्मचारी देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीले दिएको जसरी नै निर्देशन ग्रहणगरिहेको देखिन्छन्, त्यो आफैँमा उनी प्रधानमन्त्री नै वा कम्तीमा मन्त्री त हुन् नै भन्ने लाग्छ । अर्थात् यस्तै बुझाउने गरी सामग्री बनाइएको छ ।
सुधनले कर्मचारीहरूलाई निर्देशन दिँदै भनेका छन्– ‘जहाँ–जहाँ मान्छे अड्केका छन्, त्यसको पहिचान हुन सकेका छैन, त्यो पहिले पहिचान हुनुपर्यो नि ! तब तपाईँहरूले यो–यो ठाउँमा मान्छे अड्किएको छ, सेल्टर बनाएर राख्दिनुपर्यो भनेर भन्न सकिन्छ, बरु राज्यले के गर्नुपर्छ त्यसमा हामी पछि हेर्दिउँला, रासन पानी के–के हुन्छ, यसो मिलाइदिनु पर्ला ।
किनभने, त्यहाँ खाना छैन । कम्तीमा त्यहाँ एम्बुलेन्स छ कि छैन भन्ने निक्र्यौल गर्नुपर्यो । त्यसपछि उद्धार गर्नुपर्यो । विपद् उद्धारका लागि प्राधिकरणसँग कति टेन्ट छ ? सशस्त्र प्रहरीलाई ‘रिलोकेसन सेन्टर’मा पनि रासनलगायत तयारी अवस्थामा छ/छैन ? हेलिकोप्टर कम्पनीहरूसँग म पनि कुरा गर्छु ।’
यसैदिन राति उनै सुधनले ‘अर्जेन्ट म्यासेज टु पब्लिक’ भन्दै एउटा अर्को भिडिओ राखेका थिए । त्यसमा ‘जनताको सरकार भएकाले कतिपय वडा र नगरपालिकाका मेयरहरूले को–अपरेसन नगरेको’ भनेर आरोप लगाइएको छ । त्यस्तै, विपद् व्यवस्थापनमा स्थानीय सरकारले संघीय सरकारलाई सहयोग नगरेको भनिएको छ ।
त्यही भिडियोमा कसैसँग कुरा गर्दै ‘हामी बिहानैदेखि यहाँ एनडीआरआरएमए (राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा जोखिम प्राधिकरण) छौँ । र, आज रातभरि नै यहाँ रहेर काम गर्छौँ’ भनिएको छ ।
त्यसमा अर्को पनि जानकारी छ । उनले भनेका छन्– नेपाल आर्मी पनि सबैजना स्ट्यान्डवाई हुनुहुन्छ । हामीले प्राइभेट हेलिकप्टरसँग पनि कुराकानी गरिसक्यौँ ।’ सरकारमा कतै पनि नरहेका व्यक्तिबाट राज्यका यति संवेदनशील निकाय र विषयमा गरिएका र बोलिएका यी काम कुरा सामान्य छैनन् । रेकर्ड राखियोस् ।