काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न ‘जेन–जी’हरूलाई आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार प्रधानमन्त्रीसहित अन्तरिम सरकारका मन्त्री र जेन–जी अभियान्तहरूसँगको छलफलमा उहाँले निर्वाचनलाई अवसरको रूपमा लिनुपर्ने बताएका हुन् ।
राष्ट्रपति पौडेलले युवा पुस्ताले चलाएको आन्दोलनको चाहनाअनुसारको देश बनाउन नयाँ निर्वाचनमार्फत जनादेश लिएर अगाडि बढ्नुपर्छ भन्ने ध्येयले निर्वाचन घोषणा भएकाले यसलाई सामान्यरूपमा नलिन आग्रह गरेका थिए । ‘युवा पुस्ताले चाहेको देश साँच्चिकै भ्रष्टाचार, नातावाद, कृपावाद, पक्षपातपूर्ण व्यवहारबाट मुक्त होस् र सही मानिसले देश चलाओस् भनेर नै नयाँ चुनाव घोषणा गरिएको छ’, उनले भने, ‘त्यसैले यो चुनावलाई सामान्यरूपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियानका रूपमा प्रतिष्ठाको विषय बनाएर लाग्न युवाहरूलाई मेरो आग्रह छ ।’
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले चुनावमा युवाहरू अघि सरेर राम्रो प्रतिनिधिसभा बनाउन आग्रह गरेको जानकारी दिए । ‘चुनावमार्फत भ्रष्ट र बदमास जित्न नपाउन्, असल र इमान्दारहरू जितेर आऊन् । त्यसपछि देश न्यायको बाटोमा जानुपर्छ, सुशासनको बाटोमा जानुपर्छ र मुलुकले उन्नति गर्नुपर्छ । युवाहरू बाध्यताले विदेशपलायन हुने अवस्थाको अन्त्य हुनुपर्छ,’ राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार पोखरेलले भने ।
राष्ट्रपति पौडेलले यो संविधान र संसदीय प्रणालीमा राष्ट्रपति कार्यकारी नभए पनि युवाहरूले गरेको आन्दोलनको सम्मान गर्न आफ्नो उपस्थितिमा सरकारलाई सहभागी गराएर जेन–जीहरूका प्रतिनिधिलाई राखेर छलफल गरेको उल्लेख गर्दै आन्दोलनकारीहरूका बाँकी मागबारे सरकारले ध्यान विश्वास व्यक्त गरे ।