काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा जावलाखेलमा जारी गोदावरी मेलामा अवलोकनकर्ताको घुइँचो लागेको छ ।
बुधबारदेखि सुरु भएको १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको दोस्रो दिनसम्म १४ हजार सात सय जनाले अवलोकन गरेका छन् । दुई दिनमा ४४ लाखको कारोबार भएको जनाइएको छ । मेलाको पहिलो दिन सात हजार दुई सय जनाले अवलोकन गरेका थिए भने १९ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । दोस्रो दिन अर्थात् बिहीबार सात हजार पाँच सय जनाले मेला अवलोकन गर्दा २४ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको एसोसिएसनले जानकारी दिएको छ । पाँच दिनसम्म चल्ने मेलामा ४० हजार बढीले प्रत्यक्ष अवलोकन तथा एक करोड तीस लाखभन्दा बढीको व्यावसायिक कारोबार हुने आयोजकको प्रक्षेपण रहेको जनाएको छ ।
पुष्प व्यवसाय प्रवर्द्धनका सम्बन्धमा समय अनुकूल पुष्पको जातीय विकास एवम् गुणास्तरीय उत्पादनमा सहयोग पुर्याउनका लागि प्रदर्शनी आयोजना गरिएको हो । नजिकै आइरहेको तिहार पर्व तथा छट पर्वलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गरिएको एसोसिएसनले जनाएको छ । मेलमा व्यावसायिक स्टल ८०, प्लान्ट क्लिनिक स्टल एक, अफिसियल स्टल पाँच, प्रतियोगितात्मक स्टल दुई र फोटो सेल्फी स्टल दुई गरी जम्मा ९० वटा प्रदर्शनी कक्षहरु रहेको छ । साथै, गोदावरी फूलको चारवटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाइडर र इनकर्भ) मा प्रतिस्पर्धा गराइएको छ ।
कुनै समय नेपालमा सौखका रूपमा मात्रै प्रयोग गरिने फूल खेती पछिल्लो समय व्यावसायिक ढंगले फस्टाउँदै गएको छ । फूल खेतीबाट आत्मनिर्भर बन्न सकिने सम्भावनाले नयाँ व्यवसायीहरू यस क्षेत्रमा आकर्षित भइरहेका छन् । व्यावसायिक फुल खेतीतर्फको यो रुचि र लगानीले यस उद्योगलाई थप विस्तार गर्ने संकेत गरेको छ । यस पुष्प व्यवसायमा अनुमानित लगानी आठ अर्ब ८३ करोड रुपैयाँभन्दा बढिरहेको र वार्षिक कारोबार तीन अर्ब ३७ करोड रुपैयाँ बराबरको हुने गरेको एसोसिएसनले जनाएको छ ।